काठमाडाैं, २२ साउन – कपिलवस्तु प्रहरीले विभिन्न अप्रेशन अन्तर्गत एक महिना भित्र चोरीका १८ वटा मोटरसाइकलसहित ६ जनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा कपिलवस्तु नगरपालिका-१ बस्ने सहाबुद्धिन मुसलमान, वडा नंं -२ बस्ने मोहम्मद मुकिम मुसलमान, राम बहादुर खटिक र विकास श्रीवास्तव रहेका छन् । उनीहरु विगत २ वर्षदेखि मोटरसाइकल चोरीमा आबद्ध थिए ।
यसै गरी रुपन्देहिको लुम्बिनी सांस्कृतिक नगरपालिका बस्ने अब्दुल हमिद मुसलमान र सफिकुर रहमानलाई समेत पक्राउ गरिएको छ । चोरीको मोटरसाइकल लिएर विक्री गर्न जाने क्रममा उनीहरुलाई पक्राउ गरिएको कपिलवस्तु प्रहरी उपरीक्षक मनोजकुमार यादवले बताएका छन् । प्रहरीले उनीहरुको नेटवर्क पत्ता लगाई नक्कली ग्राहक बनेर जाँदा चोरीको मोटरसाइकल बेच्ने क्रममा पक्राउ गरिएको बताएको छ । पक्राउ परेका ६ जनालाई चोरी मुद्धामा म्याद थप गरी अनुसन्धान भैरहेको बताएको छ ।
उनीहरुले चोरीको मोटरसाइकल नेपाल भित्रै १८ हजार देखि २५ हजार सम्ममा बिक्री गर्ने गरेको बयान दिएको प्रहरी श्रोतको भनाई छ । उनीहरुले भारत र नेपाल दुवै तर्फका मोटरसाइकल चोरी गरी नेपालका ग्यारेज र ग्रामिण भेगमा बिक्री गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ । पक्राउ परेका मोटरसाइकलको वास्तविक धनी पत्ता लगाइ फिर्ता गरिने प्रहरी उपरीक्षक मनोजकुमार यादवले बताएका छन् ।
यसै बीच कपिलवस्तु प्रहरीले तौलिहवाबाट हराएको एक मोटरसाइकल धनीको जिम्मा लगाएको छ । एक महिना अघि आफन्त भेट्न आएका सिद्र्धाथनगर बढनी भारतका प्रहरी शिवकुमार प्रजापतिको मोटरसाइकल प्रहरीले उनलाई बुझाएको हो ।
कपिलवस्तुमा केही महिना यता बढेको मोटरसाइकल चोरीका घटनामा नियन्त्रणमा आएको छ । चोरीका मोटरसाइकल र चोरी गर्ने गिरोहका व्यक्तिहरु धमाधम पक्राउ पर्न थालेपछि घटनामा कमि आएको हो । प्रहरी उपरीक्षक यादवले भने सर्च अभियान जारी रहने बताउँदै जुनसुकै अपराध प्रहरीलार्ई सह्य नहुने र अपराधी नछाडिने बताए ।