काठमाडौं । राजधानीमा जारी नेपाल सुपर लिग एनएसएलमा ललितपुर सिटी एफसीले बुटवल लुम्बिनी एफसीमाथि सहज जित निकालेको छ । शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा ललितपुरले बुटवल लुम्बिनीलाई २–० गोलअन्तरले हराएको हो ।
ललितपुरको सहज जितमा दिनेश हेन्जन र कप्तान अनन्त तामाङले समान १/१ गोल प्रहार गरेका थिए । खेलको २६औं मिनेटमा बुटवल लुम्बिनीको डिफेन्स लाइनले क्लियर गर्न नसकेको बलमा दिनेशले गोल गर्दै ललितपुरलाई सुरुवाती अग्रता दिलाएका थिए ।
त्यसको पाँच मिनेटपछि नै ललितपुरले अग्रता दोब्बर बनाएको थियो । खेलको ३१औं मिनेटमा अनिल महर्जनको कर्नरमा कप्तान समेत रहेका मार्की खेलाडी अनन्त तामाङले हेडरमार्फत गोल गर्दै ललितपुरलाई पहिलो हाफमा नै २–० गोलअन्तरको अग्रता दिलाएका थिए ।
त्यसपछि, खेल अवधिभर दुवै टिमले प्रशस्त गोलको अवसर सिर्जना गरेपनि थप गोल हुन सकेन । जितसँगै ललितपुर सिटीले पहिलो खेलबाट महत्वपूर्ण ३ अंक जोड्दा बुटवल लुम्बिनी एफसीले पहिलो खेल हारबाट शुरूवात गरेको छ ।
आज भएको पहिलो खेलमा पोखरा थन्डर्सले एफसी चितवन माथि १–० गोलअन्तरको जित निकाल्दै महत्वपूर्ण ३ अंक जोडेको थियो । भोलि आइतबार साँझ ५:३० बजे हुने एकमात्र खेलमा नवप्रवेशी टोली विरगन्ज युनाइटेड एफसी र गत संस्करणको उपविजेता धनगढी एफसीले प्रतिस्पर्धा गर्नेछन् । आजको खेलमा उत्कृष्ट प्रदर्शन गरेका ललितपुर सिटी एफसीका कप्तान अनन्त तामाङ खेलको ‘प्लेयर अफ द म्याच’ भएका थिए ।
यसपटकको एनएसएलमा ९ टोलीले प्रतिस्पर्धा गरेका छन् । स्पोर्टिङ इलाम एफसी, झापा एफसी र वीरगञ्ज युनाइटेड एफसीले पहिलो पटक फ्रेन्चाइज लिग खेल्दैछन् । गत संस्करणको टोली काठमाडौं रेजर्स एफसी, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थन्डर्स, बुटलव लुम्बिनी एफसी र धनगढी एफसीले दोस्रो संस्करणमा पनि प्रतिस्पर्धा गर्दैछन् ।