काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरण अन्तर्गत दोस्रो खेलमा आज मंगलबार यमनको सामना गर्दैछ । नेपालले यमनसँग दोस्रो चरणको पहिलो लेगको खेल घरेलु मैदान त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल्न लागेको हो । खेल साँझ ७ बजे सुरु हुनेछ ।
फिफा वरीयतामा यमन १५६औं स्थानमा रहेको छ भने नेपाल १७३औँ स्थानमा रहेको छ । समूह ‘एच’ मा रहेको नेपालले अरबका बलिया प्रतिद्धन्दी यूएई, बहराईन र यमनसँग दुई लेगको म्याच खेल्नेछ । अर्को चरणमा प्रवेशका लागि नेपाली टोलीलाई आजको खेलमा जित्नै पर्ने दबाब छ ।
यसअघि नेपालले अघिल्लो महिना लाओसलाई पहिलो चरणमा हराउँदै दोस्रो चरणमा स्थान बनाएको थियो । नेपालले दोस्रो चरणको यूएईविरुद्धको पहिलो लेगमा ४-० गोलअन्तरको हार ब्यहोरेको थियो । यस्तै, यमनले दोस्रो चरणको बहराइनविरुद्धको पहिलो लेगमा २-० गोलअन्तरको हार ब्यहोरेको थियो ।
यो प्रतियोगिता विश्वकप छनोट २०२६ का साथै एएफसी एसियन कप २०२७ का लागि दोस्रो चरणको छनोट पनि हो । खेलको पूर्वसन्ध्यामा सोमबार आयोजित पत्रकार सम्मेलनमा नेपाली टिमका मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो अनेसेले यमनसँग खेल्दै गर्दा नेपालको अंक जोड्ने प्रयास हुने बताएका छन् ।
तुलनात्मक रुपमा बलिया प्रतिद्धन्दी यूएई र बहराईन भन्दा यमनविरुद्ध नेपाललाई घरेलु मैदानमा केही सहज हुनेछ । त्यसको फाइदा घरेलु मैदानमा उठाउने मुख्य प्रशिक्षक अनेसेको योजना छ । यमनविरुद्ध उत्रदै गर्दा नेपालको समस्या खेलाडीको चोटमा देखिन्छ ।
नेपालका प्रशिक्षक अनेसेले यमनविरुद्धको खेल लाकेन लिम्बुले गुमाउने पक्का भएको बताएका छन् । चोटका कारण युएईविरुद्धको पहिलो खेल गुमाएका डिफेन्डर अनन्त तामाङ भने खेल्ने सम्भावना छ । प्रशिक्षक अनेसेले यमनविरुद्ध पूर्ण रुपमा फिट देखिएका खेलाडीलाई मात्र मौका दिने बताएका छन् ।
मनिष डाँगीले पनि सोमबार प्रशिक्षण नगरेका कारण खेल्ने सम्भावना कम छ । मुख्य प्रशिक्षक अनेसेका अनुसार फरवार्ड अन्जन विष्टको अवस्था पनि टोलीले हेरिरहेको छ । नेपालका कप्तान किरणकुमार लिम्बुले घरेलु मैदानमा खेल्न हरेक खेलाडी उत्साहीत हुने गरेको तर्क गर्दै यमनविरुद्ध जितका लागि मैदान उत्रने बताएका छन् ।
नेपाली टोलीका मुख्य प्रशिक्षक अनेसेको आग्रहमा एन्फाले खेललाई साँझ ७ बजेका लागि सारेको हो । यसो गर्दा कार्यालय जाने समर्थकले आफ्नो काम सकेर खेल हेर्न आउन सक्नुहुन्छ । नेपाली फुटबलका लागि साथ दिन दर्शकहरुलाई सहज समय होस् भन्ने सोचेर यसो गरिएको हो । म आज पनि सबैलाई आफ्नो देशको समर्थन गर्न रंगशाला आइदिनुहुन अनुरोध गर्छु,’ अनेसेले भने ।
नेपाल र यमनसँगको खेलको लागि साधारण प्यारापिटतर्फ ४ सय र भीआईपी प्यारापिटतर्फ १ हजार रुपैयाँ टिकट दर कायम गरिएको एन्फाले जनाएको छ । एन्फाले राती खेल भएकोले दर्शकहरुका लागि बसको व्यवस्था गरेको छ र त्यसका लागि दर्शकको टिकटको अर्धकट्टी देखाउनु पर्नेछ ।
नेपाल र यमनसँगको खेलको टिकटहरू आज बिहान ८ देखि साँझ ५ बजेसम्म दशरथ रंगशालामा परिसरमा बिक्री गरिने एन्फाले जनाएको छ । दोस्रो चरणको सम्पूर्ण खेलको व्यापारिक तथा मिडिया अधिकार सिंगापुरस्थित स्पोर्टफाइभलाई प्रदान गरिएको एन्फाले जनाएको छ ।
नेपाल र यमनबीचको हेड टू हेड
नेपालले यमनसँग अहिलेसम्म चार खेल खेलेको छ । तर, नेपालले कुनै पनि खेल जित्न सकेको छैन । सन् २०१७ को जुन १३ मा नेपालमै भएको एएफसी कप छनोटको खेलमा यमनलाई गोलरहित बराबरीमा रोक्नु नै नेपालको अहिलेसम्मको उत्कृष्ट प्रदर्शन हो । एसियन कप छनोट २०१८ मार्च २७ मा दोहामा भएको खेलमा नेपाल यमनसँग २-१ गोलअन्तरले पराजित भएको थियो ।
नेपालले यमनविरुद्ध गरेको अहिलेसम्मको एक मात्र गोल हो । सो खेलमा नेपालका लागि नवयुग श्रेष्ठले गोल गरेका थिए । त्यसअघि सन् २००० फेब्रुअरी १० मा भएको एसियन कप छनोटको खेलमा नेपाल यमनसँग ३-० गोलअन्तरले पराजित भएको थियो । यस्तै, सन् २०१४ को मार्च २५ मा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल यमनसँग २-० गोलअन्तरले पराजित भएको थियो ।