काठमाडौं । नेपाल तेक्वान्दो संघको आयोजनामा 'हाइ पर्फमेन्स' प्रशिक्षक तालिम सातदोबाटोस्थित तेक्वान्दो एकेडेमी हलमा सुरु भएको छ । चारदिने तालिममा करिब १ सय प्रशिक्षकको सहभागिता रहेको तेक्वान्दो संघले जनाएको हो ।
उनीहरुलाई दक्षिण कोरियास्थित किमयोङ विश्वविद्यालयअन्तर्गत तेक्वान्दो विभागका एसोसिएट प्रोफेसर जुसिक पार्कले प्रशिक्षण दिने छन् । उक्त तालिम मंसिरमै अझै तीन चरणमा हुनेछ । चितवनमा ९ देखि १३, पोखरामा १७ देखि २१ र पुनः काठमाडौंमा २५ देखि २९ गतेसम्म हुनेछ ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले सातदोबाटोस्थित तेक्वान्दो एकेडेमी हलमा भएको एक कार्यक्रमबीच तालिमको उद्घाटन गरे । सो अवसरमा एसियाली खेलकुदमा नेपाललाई रजत दिलाउने पहिलो खेलाडी सविता राजभण्डारी र एसियाली खेलकुदकै कांस्य विजेता सविताका श्रीमान किशोर श्रेष्ठलाई सम्मान गरिएको थियो । तेक्वान्दोकाद्वयले सन् १९९८ मा थाइल्यान्डको बैंककमा भएको १३ औं एसियाली खेलकुदमा सो पदक जितेका हुन् । दुवै नेपालमा भएको आठौं दक्षिण एसियाली महासंघ खेलकुद (अहिले दक्षिण एसियाली खेलकुद) का स्वर्ण विजेता पनि हुन् ।
उनीहरुलाई सदस्य–सचिव घिसिङले प्रशंसा पत्र प्रदान गरी सम्मान गरे । उक्त अवसरमा सदस्य–सचिव घिसिङले ऐतिहासिक पदक विजेता सवितालाई लामो समयपछि प्रत्यक्ष भेट्न पाउँदा खुशी लागेको बताउदै सविताले रजत पदक जितेको जानकारी आफूले पत्रपत्रिकामा पढेको स्मरण गरेका थिए ।
‘ऐतिहासिक रजत विजेता सविताजीलाई लामो समयपछि भेट्न पाउँदा खुशी लाग्यो । संयोगनै भन्नु पर्ला, त्योपनि उहाँले रजत जितेको २५ वर्षपछि करातेबाट एरिका गुरुङले व्यक्तिगत स्पर्धामा रजत जितेको बेला ।’ सदस्य–सचिव घिसिङले भने– ‘सविताजीले पदक जितेको खबर मैले पत्रपत्रिकामा पढेको थिए । म त्यति खेर स्कुलमा पढ्थे । सायद म १४ वर्षको थिए होला । आज पनि त्यो दिन मलाई याद छ । आजको भेटले त्यो क्षणलाई ताजा बनाइ दियो । अझ आफ्नै हातले ऐतिहासिक पदक विजेतालाई सम्मान गर्न पाउँदा झन खुशी लागेको छ । तपाईं दुवै (सविता र किशोर) जनालाई उत्तरोत्तर प्रगतिको कामना ।’
सदस्य–सचिव घिसिङले यो तालिम प्रशिक्षकलाई अपडेट र अपग्रेड गर्न महत्वपूर्ण हुने भएकोले हरेक संघले समयमा नियमित रुपमा यस प्रकारको तालिम आयोजना गर्नु पर्नेमा जोड दिए । सन् २००२ मा अमेरिका गएका तेक्वान्दो दम्पति त्यसएता पहिलोपटक नेपाल आएका हुन् । उनीहरु बिहीबार अमेरिका फर्कदै छन् ।