काठमाडौं । फिफा विश्वकप–२०२६ छनोटको दोस्रो चरणमा नेपालले आज बिहीबार युनाइटेड अरब इमिरेट्स (यूएई) सँग खेल्दै छ । नेपालले समूह ‘एच’ मा घरेलु टोली यूएईविरुद्ध खेल्दै प्रतियोगिता सुरु गर्नेछ । यो खेल नेपाली समय अनुसार रातको ९:३० बजे दुबईमा सुरु हुनेछ ।
नेपाल रहेको समूह ‘एच’ मा यूएईका साथै बहराइन र यमन रहेका छन् । हाल यूएई फिफा वरियताको ६९औँ स्थानमा रहेको छ भने नेपाल १७३औँ स्थानमा रहेको छ । यसअघि नेपालले अघिल्लो महिना लाओसलाई पहिलो चरणमा हराउँदै दोस्रो चरणमा स्थान बनाएको थियो ।
खेलको पूर्वसन्ध्यामा बुधबार आयोजित पत्रकार सम्मेलनमा नेपाली टिमका मुख्य प्रशिक्षक इटालीका भिन्चेन्सो अल्बर्टो एनेसले यूएई राम्रो टिम भए पनि नेपालको तयारी राम्रो रहेको बताएका थिए । भिन्चेन्सोले नेपाल बलियो प्रतिद्वन्द्वी विरुद्ध नडराई खेल्ने बताएका छन् ।
हाम्रो टोलीमा युवा खेलाडीहरुको बाहुल्यता छ’, भिन्चेन्सोले भने, ‘रोहित र किरण बाहेक सबै युवा खेलाडी छन् । त्यसैले हाम्रो टोलीमा जोश छ ।’ बलियो प्रतिद्वन्द्वी विरुद्धका खेललाई चुनौतिका रुपमा लिने समेत भिन्चेन्सोले पत्रकार सम्मेलनमा जिकिर गरेका थिए ।
यस्तै, नेपाल दोस्रो चरणमा पुग्ने बारे कसैले विस्वास नगरेको र नेपालले सो उपलब्धि हासिल गरेको समेत भिन्चेन्सोले बताएका थिए । यूएईका प्रशिक्षक बेन्टोले नेपाललाई कमजोर टोलीका रुपमा नलिने बताउँदै आफ्नो स्तर अनुसारको खेल प्रर्दशन गर्ने बताएका थिए ।
नेपाली राष्ट्रिय टिमका कप्तान किरण चेम्जोङले यूएईविरुद्ध खेल्न टिम तयार रहेको बताएका थिए । ‘धेरै राम्रा खेलाडीसँग करियरको दौरान खेल्न मौका पाएको छु । पछिल्लो विश्वकपमा अष्ट्रेलियासँग खेलेको अनुभव छ । म नेपाली टिमको रक्षा गर्न तयार छु ।’ किरणले पत्रकार सम्मेलनमा भने ।
यूएईविरुद्ध 'अवे म्याच' खेल्दै नेपालले विश्वकप छनोटको दोस्रो चरणको सुरुआत गर्न लागेको हो । नेपालको दोस्रो खेल भने नोभेम्बर २१ मा मंसिर ५ गते त्रिपुरेश्वरस्थित घरेलु मैदान दशरथ रंगशालामा हुनेछ ।