काठमाडौं । पोर्चुगल युइएफए युरोकप अर्थात युरोपेली च्याम्पियनसिप २०२४ मा छनोट भएको छ । शुक्रबार राति भएको खेलमा स्लोभाकियालाई ३–२ गोल अन्तरले हराउँदै पोर्चुगलले अर्को वर्ष जर्मनीमा हुने युरोकपमा स्थान पक्का गरेको हो ।
पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डोले दुई गोल गर्दा अर्को एक गोल गोनकालो रामोसले गरेका थिए । स्कोभाकियाका लागि डेविड हानको र स्टानिस्लाव लोबोटकाले समान एक/एक गोल गरेपनि टोलीको हार भने टार्न भने सकेनन् ।
खेलको १८ औं मिनेटमा ब्रुनो फर्नान्डेजको क्रसमा रामोसले सुन्दर हेडर गोल गर्दै पोर्चुगललाई सुरुवाती अग्रता दिलाएका थिए । २९ औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर पारे । बक्स भित्र ह्यान्डबल भएपछि पाएको पेनाल्टीलाई रोनाल्डोले गोलमा परिणत गरेका थिए ।
खेलको ६९ औं मिनेटमा डेभिड हानकोले गोल गर्दै स्लोभाकियालाई २–१ गोलअन्तरमा ल्याएका थिए । तर, त्यसको तीन मिनेट पछि नै ब्रुनो फर्नान्डेजको पासमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगललाई ३–१ गोलअन्तरको अग्रता दिलाएका थिए ।
त्यसपछि, खेलको ८० औं मिनेटमा स्लोभाकियाका लागि स्टानिस्लाव लोबोटकाले गोल गर्दै खेल रोमाञ्चक बनाएपनि पोर्चुगलले अन्तिममा स्लोभाकियामाथि ३–२ गोलअन्तरको जित हासिल गर्यो । जितसँगै समूह 'जे' मा रहेको पोर्चुगल ७ खेलमा सतप्रतिशत नतिजासहित तीन खेल अगावै युरोकपमा छनोट भएको छ ।
पराजित स्लोभाकिया १३ अंकसहित दोस्रो स्थानमा रहेको छ । यस्तै, ११ अंकसहित तेस्रो स्थानमा रहेको लक्जेम्बर्गले पनि अघिल्लो चरण प्रवेशको सम्भावनालाई जिवितै राखेको छ । बोस्निया हर्जगोभिना ९ अंकसहित चौथो स्थानमा रहेको छ । आइसल्याण्ड ७ अंकसहित पाँचौं स्थानमा रहँदा लिचेस्टेनले खाता पनि खोलेको छैन । समूहको शीर्ष दुई टोली अर्को वर्ष जर्मनीमा हुने युरोकपका लागि छनोट हुने छन् ।