काठमाडौं । नेपालले फिफा विश्वकप–२०२६ छनोट अन्तर्गत लाओसविरुद्ध खेल्ने राष्ट्रिय टिमको घोषणा गरेको छ । मुख्य प्रशिक्षक भिसेन्जो अबलेर्टो अनेसले बुधबार लाओसविरुद्ध खेल्ने २३ सदस्यीय टिमको घोषणा गरेका हुन् ।
नेपालले छनोटको पहिलो लेगमा बिहीबार लाओसविरुद्ध खेल्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने यो खेल भोलि अपरान्ह ५ः३० बजेदेखि सुरु हुनेछ । यो खेलपछि दोस्रो लेगका लागि नेपाली टिम लाओस जानेछ । छनोटको दोस्रो लेग असोज ३० गते हुनेछ ।
नेपाली राष्ट्रिय फुटबल टोलीमा हिमालयन शेर्पा क्लबका डिफेन्डर अमृत श्रेष्ठ र न्यू रोड टिमका फरवार्ड सञ्जीव विष्टले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन् । विदेशबाट ब्यवसायीक लिग खेलिरहेका रोहित चन्द र मनिष डाँगी नेपाली टिममा सहभागी भैसकेका छन् ।
रंगशालामा नअट्ने गरि दर्शक होस्, नेपालको सबैभन्दा ठूलो झन्डा देख्न पाउँ – कप्तान किरण चेम्जोङ
कुपण्डोलमा बिहीबार भएको प्रिम्याच कन्फ्रेरेन्समा राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङले विश्वकप छनोटको लाओसविरुद्धको खेलमा ‘रातो र चन्द्र सूर्य’ को गीतले ९० मिनेट नै घरेलु मैदान गुञ्जयमान बनाउन दर्शकलाई आग्रह गरेका छन् ।
पत्रकार सम्मेलनमा अधिकांश समय दर्शकका लागि खर्चिएका कप्तान किरणले भने, “हामी ठूलो संख्यामा दर्शकहरू रंगशाला आएको हेर्न चाहन्छौँ । भोलि हामी बेग्लै समर्थकको अनुभव गर्न चाहन्छौँ । फुटबल संस्कारसहितको समर्थकको आश गरेका छौँ । नेपालको सबैभन्दा ठूलो झन्डा, ब्यानर, जर्सीसाथ सबै घरेलु समर्थक रंगशाला आउनुहोला । भोलि ९० मिनेटको खेलमा दर्शकको आवाजले पुरा शक्ति देओस् भन्ने कामना गरेका छौं ।’ किरणले थपे ।
नेपाली टिमका मुख्य प्रशिक्षक भिसेन्जो अबलेर्टो अनेसले लाओसविरुद्ध नेपाली टिममा धेरै फरक देख्न पाइने बताएका छन् । विश्वकप छनोटमा ‘नेपाली टिम तयारी अवस्थामा छ । थ्री नेसन्स कप भन्दा राम्रो टिम बनेको छ । ट्याक्टिकल र फिजिकल रुपमा टिम राम्रो छ ।’ मुख्य प्रशिक्षक अनेसले भने ।
नेपाली राष्ट्रिय टिम :
गोलकिपर : किरणकुमार लिम्बू (कप्तान), दीप कार्की, अभिषेक बराल
रक्षक : सनिष श्रेष्ठ, अनन्त तामाङ, आशिष गुरुङ, रोहित चन्द, अञ्जन राई, आशिष चौधरी, अमित श्रेष्ठ, एरिक बिष्ट
मिडफिल्डर : सुदीप गुरुङ, लाकेन लिम्बु, आवास लामिछाने, उत्सव राई, क्रितिशरत्न छुन्जु, मनिष डांगी
फरवार्ड : अञ्जन बिष्ट, आयुष घलान, जिलेस्पीजंग कार्की, दीनेश हेञ्जन, हिसुब थपलिया, सञ्जिव बिष्ट