काठमाडौं । चीनको हान्झाउमा १९ औं संस्करणको एसियाली खेलकुद एसियाडको भव्य समापन भएको छ । एसियाडको २० औं संस्करण जापानमा भेट्ने वाचासहित, हान्झाउस्थित हान्झाउ ओलम्पिक स्पोर्ट्स सेन्टरमा आइतबार भव्य समारोहकाबीच हान्झाउ एसियाडको समापन गरिएको हो ।
करिब १६ दिन चलेको एसियाड प्रतियोगितामा उद्घाटन सत्र जस्तै डिजिटल टर्चसहितको एथलिट विभिन्न प्रस्तुतिसहित दर्शकसँग सम्पर्क गर्न रंगशालासम्म पुगेको थियो । बिग लोटस रंगशालामा करिब दुई घण्टा चलेको समापन समारोह सन् २०२६ मा हुने २० औं संस्करणको आयोजक जापानको आइची नागोयालाई झण्डा हस्तानतरण गर्दै समापन भएको हो ।
एसियन गेम्सको सेलेब्रेसन सहित सहभागी देशका खेलाडीको मार्च पास गरिएको थियो । समापन समारोहमा नेपाली एरिका गुरुङले राष्ट्रिय झण्डा बोकेकी थिईन् । गुरुङ १९ औं संस्करणको एसियाडमा ब्यक्तिगत स्पर्धाकी एकमात्र पदक विजेता खेलाडी हुन् ।
चीनमा तेस्रो पटक आयोजना भएको एसियाडमा ४५ देशका करिब १२ हजार खेलाडीले विभिन्न ४१ खेलका ४ सय ८१ इभेन्टमा स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए । सहभागी ४५ राष्ट्र मध्ये ४१ राष्ट्रले पदक जितेको थियो । जसमा विश्व खेलकुदको पावर हाउस मध्यको एक चीनले २ सय १ स्वर्ण, १ सय ११ रजत र ७१ काँस्य सहित सर्वाधिक ३ सय ८३ पदक जित्यो ।
दोस्रोमा जापानले ५२ स्वर्ण, ६७ रजत र ६९ काँस्य सहित १ सय ८८ पदक जित्यो । तेस्रो स्थानका दक्षिण कोरियाले ४२ स्वर्ण, ५९ रजत र ८९ काँस्य सहित तेस्रो स्थान हात पार्दा चौथौं स्थानको भारतले २८ स्वर्ण, ३८ रजत र ४१ काँस्य सहित १ सय ७ पदक जित्यो ।
प्रतियोगितामा नेपाल ३२ औं स्थानमा रह्यो । नेपालले एक रजत र एक काँस्य सहित दुई पदक जित्यो । कराँतेबाट एरिका गुरुङले ऐतिहासिक रजत पदक जितिन् भने नेपालको महिला कबड्डी टिमले काँस्य पदक हात पार्यो । नेपालबाट २९ खेलका २ सय ५३ खेलाडी सहभागी भएका थिए ।
रजत जितेकी कराँतेकी एरिका गुरुङले १९ लाख ५० हजार पुरस्कार पाउने
एसियाली खेलकुद कराँतेमा रजत पदक जितेकी एरिका गुरुङले पुरस्कार वापत नेपाल सरकारबाट १९ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने भएकी छिन् । एरिकाले ६८ केजी तौल समूहमा रजत पदक जितेकी हुन् । नेपालले एसियाडमा कराँतेबाट १ रजत पदक र कबड्डीबाट १ कास्य पदक जितेको छ ।
एसियाडमा कराँतेले पहिलो पटक रजत पदक जितेको हो भने महिला कबड्डी टोलीले पहिलो सहभागितामा नै कासय पदक जितेको हो । एसियाड इतिहासमा यो समग्रमा नेपालको २६ औं पदक हो । यसअघि नेपालले १८ औं संस्करणसम्म आइपुग्दा २ रजत र २२ कास्यसहित २४ पदक जितेको थियो ।
नेपाल सरकारले एसियाडमा नेपालले जितेको २ पदकका लागि खेलाडी, प्रशिक्षक र सम्बन्धित संघलाई गरि समग्रमा कूल ८९ लाख ७० हजार रुपैयाँ पुरस्कार दिनेछ । राष्ट्रिय खेलकुद विकास नियमवाली २०७९ को अनुसार एसियाडमा व्यक्तिगत स्पर्धामा रजत पदक जित्ने खेलाडीले १९ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने प्रावधान छ । यस्तोमा एरिका गुरुङले रजत पदकको लागि साढे १९ लाख रुपैयाँ पाउने भएकी हुन् ।
कराँते : रजत विजेता
खेलाडी एरिका गुरुङ – १९ लाख ५० हजार रुपैयाँ
प्रशिक्षक कुशल श्रेष्ठ – ३ लाख ९० हजार रुपैयाँ
सहायक प्रशिक्षक छोरी डंगोल – १ लाख ९५ हजार रुपैयाँ
नेपाल कराते महासंघ – ६ लाख ५० हजार रुपैयाँ
कबड्डी : कास्य विजेता
खेलाडीहरु मेनुका राजवंशी (कप्तान), अनुजा राई, जयन्ती बडू, गङ्गा घिमिरे, रविना चौधरी, अर्पना चौधरी, सिर्जना कुमारी थारु, कलावती पन्त, इशा राई, सुनिता थापा, नितु गुरुङ, मनमती विष्ट – प्रति खेलाडी ३ लाख ९० हजार रुपैयाँ
मुख्य प्रशिक्षक पार्वती राई – २ लाख ६० हजार रुपैयाँ
प्रशिक्षक विष्णु दत्त भट्ट – १ लाख ३० हजार रुपैयाँ
नेपाल कबड्डी संघ – ३ लाख ९० हजार रुपैयाँ