काठमाडौं । कराँते खेलाडी विप्लवलाल श्रेष्ठले चीनको हान्झाउमा जारी १९ औं एसियाडको करातेमा काँस्य पदक जित्नबाट चुकेका छन् । शुक्रबार लिन्पिङ स्पोर्ट्स सेन्टर जिम्न्याजियममा भएको पुरुष ८४ केजीमाथिको काँस्य पदक भिडन्तमा विप्लव साउदी अरबियाका तारेग अली एम हामेदीसँग ९–१ ले पराजित भएका हुन् ।
१३ औं दक्षिण एसियाली खेलकुदका स्वर्णधारी विप्लवले ताजिकिस्तानका उमेद साफारोभलाई १२–४ ले हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेका थिए । विप्लव क्वाटरफाइनलमा किर्गिस्तानका अलिदेत साडिकानोभसँग ५–१ ले पछि परे ।
विप्लवलाई हराएका साडिकानोभ फाइनल पुगेपछि विप्लपले रिपेचेज खेल्ने मौका पाए । रिपेचेजको पहिलो चरणमा बाई पाएका विप्लवले सोझै काँस्य पदकका लागि खेल्ने अवसर पाएका हुन् ।
विप्लवका प्रतिद्वन्द्वी हामेदी ताम भने सेमिफाइनलसम्म पुगेका थिए तर किर्गिस्तानकै साडिकानोभसँग पराजित भएपछि फाइनल पुग्न असफल भए । फाइनल पुग्न नसकेपछि उनले काँस्य पदकका लागि खेल्नु पर्यो ।
हामेदीले टोकियो ओलम्पिक– २०२० का रजत तथा इन्डोनेसियामा भएको १८ औं एसियाली खेलकुदका कास्य पदक विजेता हुन् । महिला ६१ केजीमुनि नेपालकी निरुपा दोङ तामाङ बंगलादेशकी हुमाईरा अख्तर अन्तरासँग ५–१ ले चुकिन् ।
यस्तै, पुरुष ७५ केजीमुनि नेपालका शेखु मोहम्मद आलम काजाकिस्तानका खेलाडीसंग पराजित भएका छन् । काजाकिस्तानका नुरकान्त अझिकानोभले शेखुलाई ५–० ले पराजित गरे । रिपेचेजको पहिलो बाउटमा बाइ पाएका शेखु रिपेचेजकै अर्को बाउटमा भने किर्गिस्तानका नजिम नुर्लानोभसंग २–० ले चुकेका थिए ।
एकल काताको पुरुषमा स्वर्णनिम मानन्धर तथा महिलामा एलिसा मागर रास्कोटी पनि अगाडि बढ्न सकेनन् । स्वर्णिमले ३८ दशमलव ३० तथा एलिसाले ३७ दशमलव ३० अंक जोडेका थिए ।