काठमाडौं । हानझाओमा जारी १९औं एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा नेपाल समूह ‘बी’ को उपविजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार समूह ‘बी’ को अन्तिम लिगमा डिफेन्डिङ च्याम्पियन इरानले बंगलादेशलाई ५४–१६ को फराकिलो अन्तरले पराजित गरेपछि नेपाल समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।
तीन टिम रहेको यो समूहमा जितसंगै इरान समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्यो । लगातार २ हारसंगै बंगलादेश प्रतियोगिताबाट बाहिरिएको छ । यसअघि नेपालले समूह चरणको पहिलो खेलमा बंगलादेशलाई ३७–२४ ले हराएको थियो ।
एसियाडको महिला कबड्डी टिम सेमिफाइनल प्रवेश गरेसँगै नेपालले कम्तीमा कांस्य पदक निश्चित गरेको छ । नेपालले सेमिफाइनलमा शुक्रबार भारतविरुद्ध प्रतिस्पर्धा गर्ने छ । अर्को सेमिफाइनल इरान र चाइनिज ताइपेईंबीच शुक्रबारै हुनेछ ।
महिला भलिबलमा नेपाल भारतसँग पराजित
एसियाड महिला भलिबलको क्लासिफिकेसन म्याचमा नेपाल बुधबार ३–१ ले पराजित भएको छ । हाङझाव नर्मल युनिभर्सिटी कानक्विन जिम्न्याजिमा भारतले नेपाललाई २५–३३, २६–२८, २५–२३ र २५–१७ को सेटमा पराजित गर्यो ।
नेपाल प्रतियोगिताबाट बाहिरिए पनि शीर्ष आठ बाहेकका बाँकी स्थान छुट्याउनको लागि पनि खेल हुने भएको हुँदा नेपाली महिला टोलीले अरु खेल खेल्ने मौका पाएको हो । समूह चरणको खेलमा नेपाल भियतनाम र दक्षिण कोरियासंग समान ३–० को सोझो सेटमा पछि परेको थियो ।
भारतसँग पराजित भएपछि नेपालले ९ देखि १२ औं स्थानको क्लासिफिकेसनका लागि अझै दुई खेल खेल्न पाउनेछ । नेपालले अर्को खेल हङकङसँग खेल्नेछ । हङकङलाई पराजित गरेमा नेपालले नवौं स्थानको लागि अर्को खेल खेल्ने छ । नेपाल पराजित भएमा ११ औं स्थानका लागि अन्तिम खेल खेल्ने छ ।