काठमाडौं । नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का बागमती प्रादेशिक क्रिकेट संघको अध्यक्षमा निर्वाचित भएका छन् । ललितपुरमा शुक्रबार सम्पन्न दोस्रो अधिवेशन तथा साधाराणसभाले अध्यक्षमा पारससहित १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
चार जिल्लाको समर्थन पाएका पारस खड्काले अर्का अध्यक्षका प्रत्याशि उमेश पियालाई ९ भोटले हराउँदै अध्यक्षमा जितेका हुन् । पारसले २३ मत प्राप्त गर्दा उमेशको पक्षमा १४ मत खसेको थियो । पारस काठमाडौं जिल्ला क्रिकेट संघको कार्यसमिति सदस्य तथा उमेश चितवन जिल्ला क्रिकेट संघका उपाध्यक्ष हुन् ।
पासलाई काठमाडौं, ललितपुर, भक्तपुर र मकवानपुर जिल्लाको समर्थन थियो । उमेशलाई नुवाकोट र चितवन जिल्लाले समर्थन गरेका थिए । उपाध्यक्षमा २३ मतका साथ प्रेमबहादुर क्षेत्री निर्वाचित भए । उनका प्रतिस्पर्धी रुपक रञ्जितले १४ मत प्राप्त गरेका थिए ।
सचिवमा चिर्वाचित भएका प्रशन्न शाक्यले २३ मत प्राप्त गरे । पराजित भएका प्रज्वल सापकोटाले १४ मत प्राप्त गरेका थिए । कोषाध्यक्षमा सञ्जय बस्नेतले विजय बोहरालाई पराजित गरे । सन्जयले २३ मत र विजयले १४ मत प्राप्त गरेका थिए ।
यसैगरी सदस्यमा अजयवीर पाण्डे, अनिल अधिकारी, सञ्जोग श्रेष्ठ, सुजन महर्जन, धीरज श्रेष्ठ, शेखर श्रेष्ठ र बसन्तराज सत्यालले समान २३/२३ मत प्राप्त गरेर निर्वाचित भएका थिए । अनुजमान श्रेष्ठले १६ मत तथा अर्जुन केसी, सुरज ज्ञवाली, ध्रुव शर्मा, करण खतिवडा, रामधन ढकाल, सुरज सिलवाल र पारस अधिकारीले समान १४/१४ मत प्राप्त गरेका थिए ।
महिला सदस्यामा निरा राजोपाध्याय निर्विरोध निर्वाचित भइन् । मतदानमा ६ जिल्लाका २४ प्रतिनिधि र निवर्तमान कार्यसमितिका १३ सदस्यको गरि कुल ३७ मत खसेको थियो । कार्यसमितिमा अधिकांश पारसको प्यानलबाट निर्वाचित भएका छन् ।
योसँगै ४५ जिल्ला र सात प्रदेशको निर्वाचन सम्पन्न भएको छ । पारसले बागमतीको चुनावपछि मात्रै नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रमा लड्ने बारे घोषणा गर्ने जनाएका छन् । पारसले केन्द्रको प्रमुख एक पदमा लड्ने सम्भावना छ । क्यानको केन्द्रिय चुनाव आगमी असोज पहिलो साता हुँदैछ ।