काठमाडौं । सह-आयोजक अष्ट्रेलियामाथि सानदार जित निकाल्दै इंग्ल्यान्ड फिफा महिला विश्वकप फुटबल २०२३ को फाइनलमा प्रवेश गरेको छ । सिड्नीमा बुधबार भएको खेलमा घरेलु टोली अष्ट्रेलियालाई ३-१ गोलअन्तरले पराजित गर्दै इंग्ल्यान्ड पहिलोपल्ट फाइनलमा प्रवेश गरेको हो ।
इंग्ल्यान्ड यसअघि दुई संस्करण सन् २०१५ मा तेस्रो र सन् २०१९ मा चौथो भएपनि त्यसभन्दा अघि बढ्न सकेको थिएन । तर, पहिलो पटक सेमिफाइनल पुगेको अष्ट्रेलियाको कमजोर डिफेन्सको फाइदा उठाउँदै इंग्ल्यान्डले प्रभावशाली जित निकालेको थियो ।
इंग्ल्यान्डको जितमा एला टुन, लौरेन हेम्प र एलेसिया रुसोले समान एक/एक गोल गरिन् । अष्ट्रेलियाकी कप्तान सामा खेरले एक गोल फर्काए पनि घरेलु टोलीको हार टार्न भने सकिनन् । खेलको ३६औं मिनेटमा एला टुनको गोलबाट इंग्ल्यान्डले सुरुवाती अग्रता लिएको थियो ।
खेलको ६३औं मिनेटमा अष्ट्रेलियाकि कप्तान फरवार्ड सामा खेरले उत्कृष्ट गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याइन् । ६६औं मिनेटमा सामा खेरले अर्काे गोलको अवसर पाएपनि सदुपयोग गर्न नसक्दा घरेलु टोली अष्ट्रेलिया अग्रता लिनबाट चुकेको थियो ।
त्यसको एक मिनेटपछि नै अष्ट्रेलियाकि एली कार्पेन्टरको गम्भीर गल्तीमा लौरेन हेम्पले गोल गर्दै इंग्ल्यान्डलाई २-१ गोलको अग्रता दिलाइन् । त्यसपछि, खेलको ८६औं मिनेटमा एलेसिया रुसोले गोल गर्दै इंग्ल्यान्डलाई ३-१ गोलअन्तरको शानदार जित सहित पहिलोपल्ट फाइनलको यात्रा तय गराइन् ।
जितसँगै अब इंग्ल्यान्डले उपाधिका लागि आइतबार २० अगस्टमा सिड्नीमै स्पेनसँग प्रतिस्पर्धा गर्नेछ । स्पेनले मंगलबार भएको खेलमा स्वीडेनलाई २-१ गोलअन्तरले पराजित गर्दै महिला विश्वकपको इतिहासमा पहिलोपल्ट फाइनलमा स्थान बनाएको थियो ।
अब, सह-आयोजक अष्ट्रेलियाले १९ अगस्टमा तेस्रो स्थानको लागि स्वीडेनसँग प्रतिस्पर्धा गर्नेछ । अष्ट्रेलिया र न्युजिल्यान्डको विभिन्न स्थानमा जुलाई २० तारिकबाट सुरु भएको फिफा महिला विश्वकप फुटबल २०२३ मा ३२ टोलीको सहभागिता रहेको थियो । – एजेन्सी