काठमाडौं । फ्रान्सलाई सडन डेथमा हराउँदै सह-आयोजक अष्ट्रेलिया फिफा महिला विश्वकप २०२३ को सेमिफाइनलमा प्रवेश गरेको छ । ब्रिसबनमा शनिबार प्रतिस्पर्धात्मक रोचक बनेको सडन डेथमा फ्रान्सलाई ७-६ गोलअन्तरले पराजित गर्दै अष्ट्रेलियाले अन्तिम चारमा स्थान पक्का गरेको हो ।
अष्ट्रेलिया महिला विश्वकपको इतिहासमा पहिलोपल्ट सेमफाइनलमा प्रवेश गरेको हो । अष्ट्रेलिया सन् २००७, २०११ र २०१५ मा क्वाटरफाइनलबाट बाहिरिदा सन् २०१९ मा भने प्रि-क्वाटरफाइनलबाट बाहिरिएको थियो ।
रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलको निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि अतिरिक्त ३० मिनेटको समयमा पनि कुनै गोल निस्कन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो । पेनाल्टी सुटआउटमा पनि नतिजा नआएपछि अष्ट्रेलियाले सडनडेथमा बाजी मार्यो ।
पेनाल्टी सुटआउटमा अष्ट्रेलियाकी केइटलिन फुर्ड, सामान्थ खेर र मारी फोलेरले गोल गर्न सफल हुँदा स्टेफ क्याट्ले र म्याकेन्जी अर्नाेल्डले गोल गर्न सकिनन् । सडनडेथमा घरेलु टोलीकी कटरिना गोरी, तमेका यालोप, एली कार्पेन्टर र कोर्टनी भिनले गोल गर्दा क्लेर हन्टले भने गोल गर्न सकिनन् ।
फ्रान्सकी कडिडियाटोउ, डिएनी, वेन्डी रेनार्ड र इगुइनी ले सोमेरले गोल गर्न सफल हुँदा सेल्मा बाचाले र इभ पेरिसेटले गोल गर्न सकिनन् । सडनडेथमा फ्रान्सकी ग्रेस जियोरो, सकिना कारचाओइ, मायर लाकररले गोल गर्न सफ हुँदा केन्जा डाली र भिकी बेचोले गोल गर्न सकिनन् ।
कोलम्बियालाई हराउँदै इंग्ल्यान्ड महिला विश्वकपको सेमिफाइनलमा
शनिबारै स्टेडियम अष्ट्रेलिया सिड्नीमा भएको अर्काे खेलमा उपाधि दावेदार इंग्ल्यान्डले कोलम्बियामाथि २-१ गोलअन्तरको पूनरागमन जित निकाल्दै अन्तिम चारमा स्थान पक्का गरेको छ ।
इंग्ल्यान्डको जितमा लौरेन हेम्प र एलेसिया रुसोले समान एक/एक गोल गरिन् । कोलम्वियाकी लेसी सान्तोषको सुरुवाती एक गोल गरेपनि टिमको हार टार्न भने सकिनन् । खेलको ४४औं मिनेटमा लिन्डा काइसेडोको पासमा लिसी सान्तोषले गरेको गोलबाट कोलम्वियाले सुरुवाती अग्रता बनाएको थियो ।
तर, कोलम्वियाको अग्रता लामो समय टिकेन पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको सातौं मिनेटमा लौरेन हेम्पले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याइन् । त्यसपछि, खेलको ६३औं मिनेटमा एलेसिया रुसोले गोल गर्दै इंग्ल्यान्डलाई २-१ गोलअन्तरको जित दिलाइन् ।
यो नतिजासँगै अष्ट्रेलिया र न्युजिल्याण्डमा जारी महिला विश्वकपको सेमिफाइनल समीकरण पूरा भएको छ । इग्ल्यान्डले सह-आयोजक अस्ट्रेलियासँग १६ अग्रस्टमा दोस्रो सेमिफाइनल खेल खेल्ने छ । यसअघि नै सेमिफाइनलमा स्थान बनाएका स्पेन र स्वीडेन मंगलबार १५ अगस्टमा भिड्ने छन् ।