काठमाडौं । पूर्व च्याम्पियन जापानमाथि राेमाञ्चक जित हात पार्दै स्वीडेन फिफा महिला विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको दोश्रो क्वाटरफाइनलमा जापानलाई २-१ गोलअन्तरले पराजित गर्दै स्वीडेनले अन्तिम चारमा स्थान पक्का गरेको हो ।
न्युजिल्याण्डको अकल्यान्डस्थित इडन पार्क मैदानमा भएको राेमाञ्चक खेलमा स्वीडेनको जितमा एमान्डा लेस्टेड्ट र फिलिपा एन्जेलडालले समान एक/एक गोल गरिन् । जापानकी होनाका हायासीले एक गोल फर्काए पनि टिमको हार टार्न भने सकिनन् ।
खेलको ३२औँ मिनेटमा एमान्डाले गरेको गोलबाट स्विडेनले सुरुवाती अग्रता बनाएको थियो । जारी विश्वकपमा डिफेन्डर एमान्डाको चौथो गोलबाट स्विडेनले जापानविरुद्ध पहिलो हाफमा १-० को अग्रता कायम राखेको थियो ।
यस्तै, खेलको ५१औँ मिनेटमा एन्जेलडालले पेनाल्टीमार्फत गोल गर्दै स्विडेनको अग्रतालाई दोब्बर बनाएकी थिइन् । कर्नर बललाई क्लियर गर्ने क्रममा जापानकी नागानोले ह्यान्ड गर्न पुगेपछि रेफ्रीले स्वीडेनलाई पेनाल्टी प्रदान गर्दा फिलिपा चुकिनन् ।
त्यसपछि, दुई गोलले पछि परेको जापानले दोस्रो हाफमा आक्रामक फुटबल खेल्दै स्वीडेनमाथि दवाव राखेको थियो । जापानले खेलको ७६औं मिनेटमा पेनाल्टीको अवसर पाएपनि रिको युकीले गोल गर्न नसक्दा जापान गोल अन्तर कम गर्नबाट चुक्यो ।
तर, आक्रामक बनेको जापानले खेलको ८७औँ मिनेटमा हायासीको सुन्दर गोलबाट खेलमा फर्किने सम्भावनालाई कायम राखेको थियो । त्यसपछि, दुवै टिमबाट गोल हुन नसक्दा स्विडेनले २-१ गोलअन्तरको रोमाञ्चक जित निकाल्दै अन्तिम चारमा स्थान पक्का गरेको हो ।
पूर्व च्याम्पियन जापान क्वाटरफाइनलबाट बाहिरिएसँगै फिफा महिला विश्वकपले नयाँ च्याम्पियन पाउने पक्का भएको छ । यसअघि, महिला विश्वकपको आठ संस्करण सकिदा अमेरिकाले सर्वाधिक चार पटक, जर्मनीले दुई पटक तथा नर्वे र जापानले समान एक/एक पटक जितेको थियो ।
अष्ट्रेलिया र न्युजिल्याण्डमा जारी विश्वकपमा अमेरिका र नर्वे प्रि-क्वाटरफाइनलबाट बाहिरिदा जर्मनी भने समूह चरणबाटै बाहिरिएको थियो । जितसँगै स्विडेनले फाइनल प्रवेशका लागि स्पेनसँगको भेट पक्का गरेको छ । स्पेनले आजै भएको पहिलो क्वार्टरफाइनलमा साविक उपविजेता नेदरल्यान्ड्सलाई २-१ गोलअन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको थियो ।