काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले सडक प्रयोगकर्ताहरुको सुरक्षित भविष्यका लागि सडक सुरक्षा र ट्राफिक व्यवस्थापनमा सबै सरोकारवाला निकायहरूबीच बलियो साझेदारी, समन्वय र सहयोग आवश्यक रहेको बताएका छन् । नेपाल प्रहरी प्रधान कार्यालयमा आज(सोमबार) आयोजित Traffic Awareness Video Screening and Stakeholders Interaction on Road Safety Policing विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले नेपाल प्रहरीले विश्व स्वास्थ्य संगठन र यूएनडीपीका प्रतिनिधिहरूसँग सडक सुरक्षाका लागि एक अर्काको विशेषज्ञता र स्रोतहरू आदान प्रदान गरिने चर्चा गर्दै प्रत्येक नागरिकले सुरक्षित रूपमा यात्रा गर्न सक्ने गरी सबै सरोकारवाला निकायहरूको प्रयास एकताबद्ध गरी सडक सुरक्षालाई प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्ने बताए । सडक सुरक्षा सुनिश्चित गर्न धेरै चुनौती रहेको उल्लेख गर्दै ट्राफिक सचेतना र सडक सुरक्षासँग सम्बन्धित भिडियोमार्फत नागरिकलाई सडक सुरक्षाका विभिन्न पक्षहरूबारे शिक्षा दिन महत्वपूर्ण योगदान पुग्ने विश्वास प्रहरी महानिरीक्षक कुँवरले व्यक्त गरे ।
कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव रघुराम बिष्टले सडक प्रयोगकर्ताहरूले ट्राफिक नियमको पालना गरेमा सडक दुर्घटनाबाट हुने क्षतिमा कमी आउने बताए । उनले सडक सुरक्षासँग सम्बन्धित विविध विषयहरूमा मन्त्रालयबाट आवश्यक साथ, सहयोग र समन्वय सदैव रहने प्रतिबद्धता व्यक्त गरे ।
सो अवसरमा विश्व स्वास्थ्य संगठनका प्रतिनिधि डा.गोम्पे दोर्जेले सडक सुरक्षाका लागि नेपाल प्रहरी लगायत सबै सरोकारवाला निकायहरूसँग समन्वय गर्दै अगाडि बढ्ने बताए । प्रहरी वरिष्ठ उपरीक्षक तारा देवी थापाले स्वागत मन्तव्य व्यक्त गर्नुका साथै अन्तरक्रिया सम्बन्धि संक्षिप्त जानकारी गराएका थिए ।
कार्यक्रममा सडक सुरक्षा र ट्राफिक व्यवस्थापनमा नेपाल प्रहरीको पहल तथा विश्व स्वास्थ्य संगठनद्वारा निर्मित ट्राफिक सम्बन्धि जनचेतनामूलक दुई भिडियो प्रस्तुत गरिएको थियो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, विश्व स्वास्थ्य संगठनका प्रतिनिधि लगायत अन्य सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।