काठमाडौं । नाइजेरियालाई टाइब्रेकरमा हराउँदै इंग्ल्यान्ड फिफा महिला विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । अस्ट्रेलियाको ब्रिसबेनस्थित सनक्रप रंगशाला सोमबार भएको खेलमा नाइजेरियालाई टाइब्रेकरमा ४-२ गोलअन्तरले पराजित गर्दै इंग्ल्यान्डले अन्तिम आठमा स्थान पक्का गरेको हो ।
खेलको निर्धारित ९० मिनेट र त्यसपछि ३० मिनेटको अतिरिक्त समयमा दुवै टोलीले गोल गर्न नसक्दा खेल ट्राइब्रेकरमा गएको थियो । खेलको ३२औं मिनेटमा इंग्ल्यान्डले पेनाल्टी पाएपनि भिएआरले उक्त पेनाल्टीलाई खारेज गरिदिएको थियो ।
खेलको ८७औँ मिनेटमा लौरेन जेम्सले सिधै रातो कार्ड ब्यहोर्दै मैदानबाट बाहिरिदा इंग्ल्यान्ड १० खेलाडीमा समेटिएको थियो । लौरेन जेम्सलाई सुरुवातमा पहेलो कार्ड देखाइएपनि पछि भिएआरको सहायतामा उनलाई रातो कार्ड देखाएर मैदान बाहिर पठाएको थियो ।
खेलको निर्णय टाइब्रेकरमा लिइदा १० खेलाडीमा सिमित इंग्ल्याण्डले बाजी मारेको हो । टाइब्रेकरमा इंग्ल्यान्डकी बेथानी इंग्ल्यान्ड, रचेल डाली, एलेक्स ग्रीनवुड र चोलोई केलीले गोल गरिन् भने जर्जिया स्टानवेले गोल गर्न सकिनन् ।
नाइजेरियाकी क्रिष्टि युचेइवी र रसहिडाट एजिबाडेले गोल गरिन् भने डिसाएर ओपारानोजी र मिचेली एलोजीले गोल गर्न सकिनन् । इंग्ल्यान्ड समूह ‘डी’ को विजेता तथा नाइजेरिया समूह ‘बी’ को उपविजेताका रूपमा अन्तिम १६ मा प्रवेश गरेका थिए ।
अष्ट्रेलिया र न्युजिल्यान्डमा जारी महिला विश्वकपको क्वार्टरफाइनलमा पुग्ने इंग्ल्यान्ड पाँचौं राष्ट्र हो । यसअघि, स्विडेन, जापान, स्पेन र नेदरल्यान्ड्स प्रतियोगिताको क्वार्टरफाइनलमा पुगिसकेका छन् ।
प्रि-क्वाटरफाइनलमा स्विडेनले साविक विजेता अमेरिकालाई पेनाल्टी सुटआउटमा ५-४ गोलले हराएको थियो । यसैगरी अन्य प्रि-क्वाटरफाइनलमा स्पेनले स्विट्जरल्यान्डलाई २-० र जापानले नर्वेलाई ३-१ गोलअन्तरले हराएको थियो भने नेदरल्यान्ड्सले दक्षिण अफ्रिकालाई २-० गोलले हराएको थियो ।
अब प्रतियोगिताको क्वार्टरफाइनलमा स्पेनले नेदरल्यान्ड्सको ११ अगस्टमा सामना गर्नेछ भने जापानले स्विडेनको सामाना गर्नेछ । यस्तै, इंग्ल्यान्डले क्वाटरफाइनलमा कोलम्विया र जमैकाबीचको विजेतासँग १२ अगस्टमा प्रतिस्पर्धा गर्नेछ । यि दुई टोली ८ अगस्टमा खेल्दै छन् ।