काठमाडौं । आयोजक अष्ट्रेलियाले फिफा महिला विश्वकप फुटबल-२०२३ मा विजयी सुरुआत गरेको छ । सिड्नीस्थित सिड्नी ओलम्पिक रंगशलामा बिहीबार भएको खेलमा आयरल्याण्डलाई १-० गोल अन्तरले हराउँदै अष्ट्रेलियाले सुखद सुरुआत गरेको हो ।
घरेलु टोली अष्ट्रेलियाको जितमा स्टेफनी क्याटलीले निर्णायक गोल गरिन् । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलमा स्टेफनी क्याटलीले दोस्रो हाफको ५२ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्न सफल भएकी थिइन् ।
अष्ट्रेलियाकी कोनी क्रसले दिएको पासलाई नियन्त्रण लिने प्रयास गर्दा हेली रासोलाई आयरल्यान्डकी मारिसा सेभाले पेनाल्टी बक्समा फउल गरेपछि रेफ्रीले घरेलु टोलीलाई पेनाल्टी प्रदान गर्दा स्टेफनी क्याटली चुकिनन् ।
कीर्तिमानी ७५ हजार ७ सय ८४ जना दर्शक उपस्थित रहेको खेलमा खेलभर नै बल पोसेसन राख्दै आयरल्यानडलाई दवावमा राखेको घरेलु टोली अष्ट्रेलियाले त्यसपछि भने थप गोल गर्न नसक्दा स्टेफनी क्याटलीको गोल नै निर्णायक बन्यो ।
जितसँगै समूह 'बी' को आयोजक अष्ट्रेलियाले तीन अंक जोडेको छ । पहिलो खेलमै रिपब्लिक अफ आयरल्याण्डले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ । समूह 'बी'' मा अष्ट्रेलिया र आयरल्याण्डसँगै क्यानडा र नाइजेरिया रहेका छन् ।
प्रतियोगितामा आजै भएको उद्घाटन खेलमा अर्को आयोजक टिम न्युजिल्यान्डले पनि नर्वेलाई १–० गोल अन्तरले नै हराएको थियो । न्युजिल्याण्डको जितमा हानह विल्किन्सनले खेलको ४८ औं मिनेटमा निर्णायक गोल गर्न सफल भएकी थिइन् ।
अस्ट्रेलिया र न्युजिल्यान्डमा संयुक्त रूपमा आयोजना हुने प्रतियोगितामा कुल ३२ टिमको सहभागिता छ । जसलाई प्रत्येक समूहमा चार टिम रहने गरी आठ समूहमा विभाजन गरिएको छ । प्रतियोगितामा शुक्रबार नाइजेरिया र क्यानडा, फिलिपिन्स र स्वीट्जरल्यान्ड तथा स्पेन र कोस्टा रिकाबीच प्रतिस्पर्धा हुनेछ ।