काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिम आज आईतबार बंगलादेशविरुद्ध दोस्रो मैत्रीपूर्ण फुटबलका लागि मैदानमा उत्रिँदैछ । बंगलादेशको ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्तोफा कमल रंगशालामा खेल नेपाली समयानुसार बेलुका ५ः१५ बजेसुरु हुनेछ ।
एसियन गेम्सको तयारीका लागि फिफा डेटमा भएको दुई मैत्रीपूर्ण फुटबल खेल्न नेपाली महिला फुटबल टिम बंगलादेश पुगेको हो । नेपाली टिमलाई प्रशिक्षक अनन्तराज थापाले नेतृत्व गरेका छन् । नेपाली महिला टिम पछिल्लो ६ खेलयता जितविहीन छ ।
बंगलादेशविरुद्ध आज उत्रिँदा नेपाली टिम जितविहीन यात्रालाई तोड्ने लक्ष्यमा हुनेछ । सावित्रा भण्डारी सम्बाको इन्जुरी समयको गोलमा नेपालले बिहीबार पहिलो मैत्रीपूर्ण खेलमा बंगलादेशसँग १–१ गोलको बराबरी खेलेको थियो ।
मुख्य प्रशिक्षक अनन्तराज थापाले नेपाली टिमले आज जितका लागि खेल्ने बताएका छन् । “हामी यहाँ जितका लागि आएका हौँ । पहिलो खेल बराबरी भयो आज दोस्रो खेलमा भने आफ्नो उत्कृष्ट दिँदै अझ राम्रो नतिजा हामी निकाल्ने प्रयास गर्नेछौँ,” थापाले भने ।
नेपालले बंगलादेशसँगको मैत्रीपुर्ण खेललाई एशियाली खेलकुदको तयारीका रुपमा समेत लिएको छ । एशियाडको तयारीमा दुई मैत्रीपुर्ण खेलका लागि ३१ सदस्यीय नेपाली राष्ट्रिय महिला फुटबल टोली मंगलबार बगंलादेशतर्फ प्रस्थान गरेको थियो ।
महिला फुटबल टोली :
गोलकिपर : एन्जिला तुम्बापो सुब्बा, अन्जना राना मगर, उषा नाथ
डिफेन्डर : अमृता जैसी, गिता राना, हिराकुमारी भुजेल, पुजा राना, विमला विक, निशा थोकर, समिक्षा घिमिरे, अञ्जली वाइवा
मिडफिल्डर : रेनुका नगरकोटे, सरु लिम्बु, विमला चौधरी, अनिता बस्नेत, प्रिति राई, दीपा शाही
फरवार्ड : सावित्रा भण्डारी, अनिता केसी, सविता राना मगर, रश्मीकुमारी घिसिङ, अमिषा कार्की, रेखा पौडेल
प्रशिक्षक : अनन्त राज थाप (मुख्य प्रशिक्षक), पारस चौधरी (सहायक प्रशिक्षक), सुरजकुमार लामा (गोलकिपर प्रशिक्षक)