काठमाडौं । भारतमा जारी १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले सान्तवना जित निकालेको छ । बैंगलोरस्थित श्री कांतिराव रंगशालामा मंगलबार भएको खेलमा नेपालले पाकिस्तानलाई १-० गोल अन्तरले हराएको हो ।
गत संस्करणको उपविजेता नेपाल र पाकिस्तान दुबै टोली १४ औं संस्करणको साफबाट बाहिरिसकेका छन् । नेपालको जितमा आशिष चौधरीले निर्णायक गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा नेपालले निर्णायक गोल गरेको थियो ।
खेलको ८० औं मिनेटमा लाकेन लिम्बुको पासमा आशिष चौधरीले पेनाल्टी क्षेत्र बाहिरबाट उत्कृष्ट गोल गरेका थिए । बेन्चबाट खेलको दोस्रो हाफमा मैदान प्रवेश गरेका आशिषको यो नेपालका लागि डेब्यु गोल हो । आशिष घरेलु लिगमा चर्च ब्वाइज युनाइटेडबाट खेल्दै आएका थिए ।
यससँगै पहिलो जित निकालेको नेपालले तीन खेलमा तीन अंक जोडेर प्रतियोगिताको अन्त्य गरेको छ । त्यस्तै, तीनै खेलमा पराजित पाकिस्तानले अंकविहीन रहँदै प्रतियोगिताको अन्त्य गरेको छ । पाकिस्तान फिफाको निलम्बन फुकुवाको आठ वर्षपछि अन्तर्राष्ट्रिय फुटबलमा फर्किएको थियो ।
नेपाल पहिलो खेलमा कुवेतसँग ३-१ गोल अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा भारतसँग २-० गोल अन्तरले पराजित भएको थियो । पाकिस्तान पहिलो खेलमा भारतसँग ४-० गोल अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा कुवेतसँग पनि ४-० गोल अन्तरले नै पराजित भएको थियो ।
मंगलबार भएको खेलमा भारत र कुवेतले १-१ गोलको बराबरी खेल्दै अंक बाडेका छन् । प्रतिस्पर्धात्मक रहेको खेलको पहिलो हाफको इन्जुरी समयमा कप्तान सुनिल क्षेत्रीले गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको इन्जुरी समयमा भारतका अनवर अलीले आत्मघाती गोल गरेपछि खेल १-१ गोलको बराबरीमा सकिएको थियो ।
यस्तै, खेलको अन्तिमतर्फ दुबै टोली १० खेलाडीमा समेटिएका थिए । विपक्षी खेलाडीमाथि हात हालेपछि ९० औं मिनेटमा कुवेतका अहमद अल्कालफ र भारतका रहिम अलीले रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए । त्यस्तै, भारतका मुख्य प्रशिक्षक इगोर स्टामिकले पनि रातो कार्ड पाएका थिए ।
समूह ‘ए’ बाट साविक विजेता भारत र आमन्त्रित टोली कुवेतले सेमिफाइनलमा स्थान बनाएका छन् । कुवेत ३ खेलमा ७ अंक जोडेर समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको छ भने भारत ३ खेलमा ७ अंक जोडेर समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।