काठमाडौं । भारतमा जारी १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल आज मंगलबार पाकिस्तानसँग भिड्दैछ । बैंगलोरस्थित श्री कांतिराव रंगशालामा नेपालले दिउँसो ३:४५ बजे पाकिस्तानको सामना गर्नेछ ।
गत संस्करणको उपविजेता नेपाल र पाकिस्तान दुबै टोली १४ औं संस्करणको साफबाट बाहिरिसकेका छन् । लगातार दुईखेलमा पराजय व्यहोर्दै प्रतियोगिताबाट बाहिरिसकेका दुवै टोलिका लागी आजको खेल प्रतिस्ठाका लागी मात्रै हुनेछ । तर, यो खेलमा विजयी रहने टोली ‘हेड टु हेड’ मा अघि बढ्नेछ ।
नेपाल र पाकिस्तानले अहिलेसम्म १८ खेल खेलिसकेका छन् । नेपालले ६ खेल जित्दा ७ खेलमा पाकिस्तानसँग पराजय व्यहोरेको छ । त्यस्तै, बाकी ५ खेलमा दुवै टोलिले बराबरि खेलेका छन् । समूह ‘ए’ मा रहेको नेपाल २ खेलमा अंक विहीन रहदै तेस्रो स्थानमा रहेको छ भने पाकिस्तान २ खेलमा अंक विहीन रहदै पुछारमा रहेको छ ।
समूह ‘ए’ बाट भारत र आमन्त्रित टोली कुवेतले सेमिफाइनलमा स्थान बनाएको छ । कुवेत २ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ भने भारत २ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । आज नै कुवेत र भारत भिड्दै छन् । दुई टोलीबीचको खेलपछि समूह विजेता र उपविजेताको टुंगो लाग्नेछ ।
नेपाल पहिलो खेलमा कुवेतसँग ३-१ गोल अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा भारतसँग २-० गोल अन्तरले पराजित भएको थियो । पाकिस्तान पहिलो खेलमा भारतसँग ४-० गोल अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा कुवेतसँग पनि ४-० गोल अन्तरले नै पराजित भएको थियो ।
नेपालले पाकिस्तानसँग सन् १९८५ मा पहिलो पटक खेलेको थियो । उक्त खेलमा नेपालले पाकिस्तानसँग २-२ गोलको बराबरी खेलेको थियो । ढाकामा भएको उक्त खेलमा नेपालका लागि गणेश थापा र मान बहादुर मल्लले समान एक/एक गोल गरेका थिए ।
नेपाल र पाकिस्तानको पछिल्लो भेट आठ महिना अगाडि कात्तिकमा काठमाडौंमा सम्पन्न अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका दौरान भएको थियो । त्यतिबेला पाकिस्तान फिफाको निलम्बन फुकुवापछि करिब आठ वर्षपछि पहिलो पटक अन्तर्राष्ट्रिय फुटबलमा फर्किएको थियो ।
जसमा नेपालले अञ्जन बिष्टको गोलको मद्दतमा १-० गोल अन्तरको संघर्षपूर्ण जित निकालेको थियो । तर, आज अञ्जन पाकिस्तानविरुद्ध मैदान उत्रिने छैनन् । अञ्जन शनिबार भारतविरुद्ध भएको खेलमा पहिलो हाफमै घाइते हुँदै मैदानबाट बाहिरिएका थिए ।
आज साविक उपविजेता नेपाल कम्तीमा पनि एक जितका साथ प्रतियोगिताको अन्त्य गर्न चाहन्छ भने पाकिस्तानको लक्ष्य पनि अन्तिम खेलमा जित निकाल्ने नै हुनेछ । दुवै टोलीको प्रतिष्ठासँग जोडिएकाले आजको खेल निकै रोमाञ्चक हुने अनुमान गर्न सकिन्छ ।
नेपाली टोली :
गोलरक्षक : किरण चेम्जोङ (राउन्ड ग्लास पन्जाब एफसी), दीप कार्की (मनाङ मर्स्याङ्दी), विशाल श्रेष्ठ (मछिन्द्र)
डिफेन्डर : विमल पाण्डे (त्रिभुवन आर्मी फुटबल क्लब), सनिश श्रेष्ठ (एपीएफ फुटबल क्लब), अनन्त तामाङ (चर्च ब्वाइज युनाइटेड), देवेन्द्र तामाङ (मछिन्द्र), निशान्त खड्का (संकटा क्लब), रोहित चन्द (पर्सिक केडीरी), सिमान्त थापा (जावलाखेल युथ क्लब)
मिडफिल्डर : पुजन उपरकोटी (मछिन्द्र), एरिक विष्ट (चर्च ब्वाइज), नविन लामा (एपिएफ), मणीकुमार लामा (एपिएफ), लाकेन लिम्बु (थ्री स्टार), आवास लामिछाने (एपिएफ)
फरवार्ड : आयुष घलान (संकटा), नवयुग श्रेष्ठ (आर्मी), दीपकराज सिंह ठकुरी (सातदोबाटो), अन्जन विष्ट (चर्च ब्वाइज), मनीष डाँगी (संकटा), आशीष चौधरी (चर्च ब्वाइज), विमल घर्तीमगर (मछिन्द्र)