काठमाडौं । घरेलु टोली विराटनगर सिटी एफसीले सातौँ संस्करणको विराट गोल्डकप फुटबलको उपाधि जितेको छ । विराटनगरस्थित सहिद रंगशालामा विहिबार राति भएको फाइनल खेलमा भारत केरलाको लुका एफसीलाई ४-० गोल अन्तरले हराउँदै विराटनगर च्याम्पियन बनेको हो ।
२०१८ सालको महेन्द्र गोल्डकपको पहिलो संस्करणमा तत्कालीन आयोजक मोरङ ११ उपविजेता र एलेभेन ज्वेल्स कोलाकाता विजेता बनेको थियो भने २०१९ सालमा आयोजक मोरङ ११ ले उपाधि जित्दा कोलकाता उपविजेता भएको थियो ।
विराटनगरले छ दशकपछि यो उपलब्धि हासिल गरेको हो । विराटनगरले उपाधिसँगै २० लाख १५ हजार रुपैयाँ प्राप्त गरेको छ । उपविजेता केरलाले १० लाख १५ हजार रुपैयाँ प्राप्त गर्यो । घरेलु मैदानमा ६१ वर्षपछि विराटनगरको जितमा आफिज ओलावाले, विमल घर्ति मगर, मेसुके ओलुमोउ र अविशेक गुरुङले एक/एक गोल गरेका थिए ।
खेलको सातौं मिनेटमा विमल घर्ति मगरको लामो पासमा ओलावालेले गोल गर्दै घरेलु टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । ७९ औं मिनेटमा सुजिकीले निकालेको क्रस पासमा बिमल घर्ति मगरले पेनाल्टी एरियाबाट गोल गर्दै अग्रतालाई दोब्बर बनाए ।
खेलको ८९ औं मिनेटमा मेसुकेले गोल गर्दा विराटनगरको अग्रता तेब्बर बन्यो । त्यसपछि, खेलको इन्जुरी समयमा अविशेकले गोल गर्दै विराटनगरलाई ४-० को सानदारजित दिलाएका थिए । खेलमा विराटनगरका सुरज विके 'म्यान अफ दी म्याच' बन्दै नगद ११ हजार प्राप्त गरे ।
जावलाखेल युथ क्लबले फेयर प्ले अफ द टुर्नामेन्टको उपाधि नगद २५ हजार प्राप्त गरेको छ । यसैगरी, सर्वाधिक गोलकर्ताको अवार्ड विराटनगरका अभिषेक गुरुङले हात पारे । उत्कृष्ट फरवार्डको उपाधि लुका सकर भारतका चल्सले हात पारे ।
उत्कृष्ट डिफेन्डरमा देवेन्द्र तामाङ रहे भने उत्कृष्ट मिडफिल्डरको रुपमा विराटनगरका युता सुजुकी रहे । उत्कृष्ट गोलकिपरको रुपमा विराटनगरका विशाल श्रेष्ठ रहँदा उत्कृष्ट प्रशिक्षकको उपाधि विराटनगरकै सन्तोष न्यौपानेले हात पारे । प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी विराटनगरका मेसुके ओलाउमो रहे ।
विधागततर्फ उत्कृष्ट भएकालाई नगद जनही २५ हजार रुपैया र मुख्य प्रायोजक काब्रा ग्रुपबाट गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो । यसैगरी उत्कृष्ट प्रशिक्षक र गोलरक्षकको नगद २५ हजार पुरस्कार भने नेपाली क्रिकेट टिमका पूर्व खेलाडी तथा व्यवसायी पारस लुनियाले प्रायोजन गरेका थिए ।
उपाधि विजेता टोली तथा खेलाडीहरुलाई विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकज नेम्वाङ, विराट गोल्डकप ट्रष्टका अध्यक्ष सन्तोष बानियाँ लगायतले पुरस्कार बितरण गरेका थिए ।