काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगा फुटबल एल क्लासिको खेलमा रियल म्याड्रिडलाई पराजित गरेको छ । स्पोटिफाई क्याम्प नोउमा आइतबार राति भएको रोमाञ्चक खेलमा बार्सिलोनाले रियललाई २-१ गोल अन्तरले हराएको हो ।
बार्सिलोनाले रियललाई हराएको यो लगातार तेस्रो पटक हो । जितसँगै बार्सिलोनाले उपाधि होडमा रियललाई १२ अंकले पछाडि पारेको छ । यस खेलमा तिनै गोल बार्सिलोनाका खेलाडीले गरेका थिए । रोनाल्ड एराउजोको आत्मघाती गोलबाट पछाडि पर्नुका बावजुत बार्सिलोनाको जितमा सजी रोबर्टाे र फ्रान्क केस्सीले गोल गरे ।
घरेलु मैदानमा एक लाख समर्थकमाझ खेलको नवौं मिनेटमा बार्सिलोनाका डिफेन्डर रोनाल्ड अराउजोको आत्मघाती गोलबाट रियलले सुरुआती अग्रता लिएको थियो । रियलका भिनिसियस जुनियरको क्रस क्लियर गर्नेक्रममा आराउजोले आफ्नै पोष्टमा गोल गरेका थिए ।
खेलको ४५ औं मिनेटमा सर्जी रोबर्टाेले गोल गर्दै खेललाई पहिलो हाफमा १–१ गोलको बराबरीमा ल्याएका थिए । ८१ औँ मिनेटमा मार्को असेन्सियोले गरेको गोलबाट रियलले पुनः अग्रता लिएको थियो । तर, उन गोललाई भिडियो सहायक रेफ्रीले अफसाइड घोषित गरिदिएको थियो ।
बराबरीतर्फ धकेलिएको खेलको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा एलेक्स बाल्डेको पासमा फ्रान्क केस्सीले गोल गर्दै बार्सिलोनालाई २-१ को रोमाञ्चक जित दिलाएका थिए । जितसँगै शीर्ष स्थानको बार्सिलोनाको २६ खेलबाट ६८ अंक पुगेको छ । पराजित साविक विजेता रियल ५६ अंक सहित दोस्रो स्थानमा रहेको छ । तेस्रो स्थानको एथ्लेटिको मड्रिडको ५१ अंक रहेकाे छ ।
गएराति भएको ला लिगा फुटबलको अन्य खेलमा चौथो स्थानको रियाल सोसिडाडले पुछारको इल्चेलाई २–० ले हरायो । पाँचौँ स्थानको रियाल बेटिसले ११ औँ स्थानको मायोर्कालाई १–० ले पराजित गर्यो । छैटौँ स्थानको भिल्लारियालले नवौँ स्थानको ओसासुनालाई ३–० ले हरायो । १३ औँ स्थानको गेटाफेले १४ औँ स्थानको सेभियामाथि २–० को जित हासिल गर्यो ।