काठमाडौं । होङवान्जी न्यु डायमन्ड युथ स्पोर्टस् क्लब र एपिएफ क्लबले छैटौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिता २०७९ मा विजयी सुरुवात गरेको छ । शेरबहादुर खड्का प्रतिष्ठानको आयोजनामा भएको प्रतियोगिताको उद्घाटन खेलमा डायमन्डले नेपाली सेनाको त्रिभुवन आर्मी क्लबमाथि ३–० को जित निकालेको हो ।
न्यु डायमन्डले आर्मीमाथि २५–२०, २५–१४, २५–१० को सहज जित निकालेको हो । पहिलो सेटको सुरुवातमा ४–० को अग्रता लिदै केहि आशा देखाएको सेना त्यसलाई निरन्तरता दिन नसक्दा २५–२० ले डायमन्डलाई खेल सुम्पन पुग्यो । दोश्रो र तेश्रो सेटमा सेनालाई डायमन्डले खेलमा फर्कने अवसरनै दिएन ।
न्यु डायमन्डकी रिमा कुँवर प्लेयर अफ दी म्याच घोषित भईन् । उनलाई नेरोलेकका कन्ट्री हेड मनोज मिश्र र नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले नगद १० हजार सहित ट्रफी प्रदान गरे ।
दोश्रो खेलमा साविक विजेता नेपाल एपिएफ क्लबले जित निकाल्यो । एपिएफले सातौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको विजेता नेपाल पुलिस क्लबलाई सहज ३–० ले पराजित गर्दै तीन अंक बटुलेको छ । एपिएफले पुलिसलाई २५–२०, २५–२१, २५–२१ ले पराजित गरेको हो । एपिएफकी सरस्वती चौधरी प्लेयर अफ दी म्याच घोषित भईन् । चौधरीले नगद १० हजार सहित ट्रफी प्राप्त गरिन् ।
यस अघि प्रतियोगिताको प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले उद्घाटन गर्दै खेलकुदको विकासमा प्रतिष्ठान र निजी क्षेत्रको महत्व रहेको भन्द्र अन्य निजी संस्था तथा प्रतिष्ठानहरुले पनि खेलकुदमा चासो देखाउनु पर्नेमा जोड दिए ।
सदस्य सचिव घिसिङले भलिबल खेलको विकास र विस्तारमा शेरबहादुर प्रतिष्ठानले गरेको योगदानको प्रशंसा गर्दै नेपालमा आयोजना हुन लागेको काभा सेन्ट्रल एशिया सिनियर भलिबल प्रतियोगिताका लागि यो छनौट खेलको रुपमा रहन सक्ने समेत बताए ।
प्रतियोगितामा तीन विभागिय टोली सहित न्यु डायमन्डको सहभागिता रहेको छ । पत्रकार सम्मेलनमा गण्डकी प्रदेश भलिबल संघ र एभरेष्ट भलिबल क्लबको समेत सहभागिता रहने बताईएता पनि अन्तिममा आएर दुई टिमले सहभागिता जनाएनन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा संचालित प्रतियोगिता माघ २४ गते सम्म सञ्चालन हुनेछ ।
प्रतियोगिताका विजेता टोलीले नगद तीन लाख रुपैयाँ पुरस्कार पाउने छन् । यस्तै उपविजेताले एक लाख ५० हजार र तेस्रो हुने टोलीले ७५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई नगद ५० हजारसँगै अन्य आकर्षक पुरस्कार प्रदान गरिनेछ ।
यस्तै विधागततर्फका उत्कृष्ट हुनेलाई जनही १५ हजार र हरेक खेलको प्लेयर अफ दी म्याचलाई १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ भने एक उदयमान खेलाडीलाई नगद १५ हजारसहित इमर्जिङ प्लेयर अवार्डबाट सम्मानित गरिनेछ ।
यस अघि होङवान्जी न्यु डायमन्डकी लिवेरो एवं राष्ट्रिय टिमकी खेलाडी सलिना श्रेष्ठलाई छैटौं संस्करणको उद्घाटनका अवसरमा शेरबहादुर खड्का प्रतिष्ठानले नगद सहित सम्मान गरेकोछ । श्रेष्ठलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिताहरुमा प्रश्तुत गरेको खेल कौशलताका कारण राष्ट्रको पहिचानलाई उच्च बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै नगद ५० हजार रुपैयाँसहित स्पेसल अवार्डबाट सम्मानित गरिएको हो ।