काठमाडौं । इटहरीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि घरेलु टोली प्रदेश एक र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुने भएको छ ।
जनता क्रिकेट पार्क मैदानमा शुक्रबार सम्पन्न दोस्रो सेमिफाइनलमा एपीएफलाई ८ विकेटले हराउँदै प्रदेश १ ले सुदूरपश्चिमसँगको भेट निश्चित गरेको हो । शुक्रबार विहान भएको पहिलो सेमिफाइनलमा सुदूरपश्चिमले मधेश प्रदेशलाई ११४ रनले पराजित गरी फाइनलमा पुगेको थियो ।
दोस्रो सेमिफाइनलमा जितका लागि एपीएफले दिएको ४६ रनको लक्ष्य प्रदेश १ ले ९ ओभरमा २ विकेट गुमाएर भेट्टाएको थियो । कप्तान रुविना क्षेत्रीले अविजित २० रन बनाउँदा काजल श्रेष्ठले ९ र अप्सरी बेगमले अविजित ९ रन जोडिन् । प्रदेश १ ले ७ अतिरिक्त रन पाएको थियो । बलिङमा एपीएफकी नेरी थापाले १ विकेट लिइन् ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले निकै कमजोर ब्याटिङ गर्दा १३.४ ओभरमा ४५ रनमै अलआउट भयो । राष्ट्रिय टिमका खेलाडीको बाहुल्य रहेको एपीएफका लागि कप्तान सीता रानामगरले सर्वाधिक १० रन बनाइन् । बाँकी कसैले पनि दोहोरो अंकको रन बनाउन सकेनन् ।
एपीएफलाई सस्तैमा रोक्न प्रदेश एककी अलिशा खाडिया र संगिता राईले समान तीन/तीन विकेट लिँदा सवनम राईले दुई विकेट लिइन् । प्रदेश एकबाट उत्कृष्ट प्रदर्शन गरेकी संगिता राई ‘प्लेयर अफ द म्याच’ भइन् ।
यसअघि, पहिलो सेमिफाइनल खेलमा सुदूरपश्चिम प्रदेशले प्रस्तुत गरेको १८१ रनको विशाल लक्ष्य पछ्याउने क्रममा मधेस प्रदेशले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ६६ रनमात्र बनाउँन सक्यो । मधेसबाट प्रतिमा साहले सर्वाधिक १९ रन बनाइन् ।
सिमान कुँवरले १६ र ओपनर अलिशा यादवले १४ रन बनाउँनुबाहेक मधेसका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । सुदुरपश्चिमका लागि मनिशा चौधरी र रितु कनौजियाले समान २/२ तथा कविता कुँवर, रितु कनौजिया र स्नेहा महराले समान १/१ विकेट लिइन् ।
यसअघि ओपनरद्वय कप्तान विन्दु रावल र कविता कुँवरले शतकीय साझेदारी गरेपछि टस जितेर ब्याटिङमा आएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा दुई विकेट गुमाएर १८० रनको योगफल खडा गरेको थियो । सुदूरपश्चिमबाट कविताले ५४ बलमा १२ चौका र एक छक्कासहित ७० रन बनाइन् ।
यस्तै, कप्तान विन्दुले ५२ बलमा ९ चौकासहित अविजित ६० रन जोडिन् । यसबाहेक, आक्रामक रुपमा प्रस्तुत भएकी कविता जोशीले १५ बलमा ४ चौका र २ छक्कासहित ३२ रन थपिन् । मधेसका भूमि सिंह र साना प्रवीनले समान १/१ विकेट लिइन् । सुदूरपश्चिमबाट उत्कृष्ट प्रदर्शन गरेकी कविता कुँवर ‘प्लेयर अफ द म्याच’ भइन् ।
फाइनल खेल शनिबार हुनेछ । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेता टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्ने छ । यस्तै सर्वोत्कृष्ट खेलाडीले ३० हजार तथा उत्कृष्ट ब्याटर र बलरले समान २०/२० हजार पाउनेछन् ।