एजेन्सी, १४ साउन – कतार २०२२ विश्वकपको टोलीले २०१० मा आयोजक राष्ट्रको औपचारिक छनोट प्रक्रियामा आफ्ना प्रमुख प्रतियोगी अष्ट्रेलिया र अमेरिकालाई हराउन गोप्य अभियान चलाएको खबर सार्वजनिक भएको छ ।
सन्डे टाइम्सले खुलासा गरेको गोप्य डक्युमेन्टमा कतारले न्युयोर्कस्थित अमेरिकी जनसम्पर्क एजेन्सी र खुफिया विभागका पूर्व अधिकारीलाई आफ्ना विरोधी टिमविरुद्ध विभिन्न कार्यमा लगाएको पाइएको छ ।
यसको प्रमुख उद्देश्य उमेदवार राष्ट्रमा स्थानीय स्तरमा विश्वकपलाई समर्थन नगर्न गलत प्रचार गर्नु रहेको बताइएको छ । कतारले २०१० मा आयोजक राष्ट्रको छनौट प्रक्रियामा अमेरिका, अष्ट्रेलिया, दक्षिण कोरिया र जापानलाई हराएको थियो ।
यो खबरपछि कतारले फिफाको कानून उल्लंघन गरेकामा नयाँ विवाद सुरु भएको छ । फिफाको नियम अनुसार यस प्रक्रियामा संलग्न कुनैपनि देशले लिखित वा मौखिक रुपमा अन्य उमेदवार राष्ट्रका बारेमा गलत प्रभाव पार्ने खालका नकारात्मक प्रचार गर्न पाइँदैन ।
लिक भएको डक्युमेन्ट अनुसार कतारले संचालन गरेको गोप्य अभियान अन्र्तगत एक शिक्षकलाई ९ हजार डलरको बदलामा विश्वकपले अमेरिकी अर्थतन्त्रमा नकारात्मक असर पार्नेछ भन्ने गलत प्रचार गरि सो खबर मिडियासम्म पुर्याउन लगाइएको थियो । त्यसैगरी पत्रकार, ब्लगर लगायतका उच्च व्यक्तित्वलाई पनि अमेरिकामा विश्वकप हुनुका नकारात्मक खबर फैलाउने काम दिइएको थियो ।
त्यस्तै अमेरिकी खेलकुद प्रशिक्षकहरुलाई पनि आफ्ना साथीहरुसमक्ष अमेरिकाले विश्वकप आयोजनामा भन्दा खेलकुदका लागि रकम खर्च गर्दा उचित हुने प्रचार गर्न लगाइएको थियो ।
अष्ट्रेलियामा भने रग्बी खेलाडीहरुमाझ विश्वकप आयोजना विरुद्ध प्रदर्शनका कार्यक्रम आयोजना गरिएको थियो । यति मात्र नभएर विरोधी देशबाट यस प्रक्रियामा संलग्न हुने अधिकारीहरु बारे निजी जानकारी समेत संकलन गरिएको जनाइएको छ ।