काठमाडाैं, १४ साउन – फिफाले केही दिन अघि मात्र वर्षको उत्कृष्ट खेलाडी, रेफ्रि र प्रशिक्षकको मनोनयन सार्वजनिक गरेको छ। मनोनय सार्वजनिक भएसँग यस पटकको वर्षको उत्कृष्ट खेलाडीमा कसले बाजी मार्ला भन्ने चर्चा शुरु भएको छ।
गत वर्ष लियोनल मेस्सी र नेयमारलाई पछि पार्दै क्रिस्टियानो रोनाल्डो वर्षका उत्कृष्ट खेलाडी चुनिएका थिए। अहिले पनि रोनाल्डो मुख्य दावेदार मध्येका एक हुन्। तर, पछिल्लो एउटा सर्वेक्षण अनुसार फरक नतिजा आउन सक्ने संकेत देखिएको छ।
३० हजार समर्थककाबीचमा गरिएको सर्वेक्षणमा क्रोएशिया एवम् रियल म्याड्रिडका लुका मोड्रिच लोकप्रिय देखिएका छन्। स्पेनिस पत्रिका एएसले गरेको अनलाइन सर्वोक्षणमा मोड्रिच शीर्षस्थानमा छन् भने रोनाल्डो दोस्रो, मेस्सी तेस्रो, एन्टोनियो ग्रिजमन चौथो र राफेल भारान पाँचौमा छन्।
सर्वेक्षणमा मोड्रिचलाई मात्र ४६ प्रतिशत मत परेको छ। फिफाले केही समयअगाडि उत्कृष्ट खेलाडीको मनोनयनमा रोनाल्डो, मेसी, केभिन डि ब्रुयन, एन्टोनी ग्रिजम्यन, इडेन हाजार्ड, ह्यारी केन, केलियन बाप्पे, लुका मोड्रिच मोहम्मद सालाह र राफायल भारानको नाम सार्वजनिक गरेको थियो।
हालै सम्पन्न विश्वकपका उत्कृष्ट खेलाडी मोड्रिचले ४६.७८ प्रतिशत मत प्राप्त गर्दा रोनाल्डोको १७.५९ प्रतिशत र मेस्सीको १४.४१ प्रतिशत मत छ। त्यस्तै ग्रिजम्यनलाई १२.८, भारानलाई ३.६५, केलियन एमबप्पेले २.८३, मोहमद सलाहले ०.८, इडेन हाजार्डले ०.७४, डी ब्रोयनेले ०.२९ र ह्यारी केनले ०.११ प्रतिशत मत प्राप्त गरेका छन्।
यस्ता खाले सर्वेक्षणले विजेताको संकेत सम्म गर्न सक्छ तर नतिजा त्यहि हुन्छ भन्ने जरुरी छैन। यो अवार्डको निर्णय प्रक्रिया भने फरक रहेको छ। फिफाका सदस्य राष्ट्रका फुटबल टोलीका कप्तानले दिने भोट, प्रशिक्षकले दिने भोट, विश्वभरबाट २ सय सञ्चारकर्मी र फिफाको वेभसाइटमा समर्थकले गर्ने भोटका आधारमा विजेता छनोट हुनेछ।
कप्तान, प्रशिक्षक, सञ्चारकर्मी र समर्थकको भोटको भार समान २५ प्रतिशत रहनेछ। फिफा वर्षको उत्कृष्ट खेलाडीको घोषणा सेप्टेम्बर २४ मा लन्डनमा हुनेछ।