रौतहट, पुस २ । उपमेयर कप महिला राष्ट्रिय कराँते प्रतियोगिताको उपाधि काठमाडौंको नागार्जुन नगरपालिकाले जितेको छ । पूर्वपश्चिम महेन्द्र राजमार्गसँग जोडिएको चन्द्रनिगाहपुरमा भएको उक्त प्रतियोगितामा नागार्जुन नगरपालिकाको टिमले नौ स्वर्ण पदकसहित जित निकालेको हो ।
आयोजक चन्द्रपुर नगरपालिका २ स्वर्ण र ६ कास्य पदकसहित दोस्रो भएको छ भने २ स्वर्णसहित गोलबजार नगरपालिका तेस्रो भयो । प्रतियोगितामा नागर्जुन नगरपालिकाकी बिनिता श्रेष्ठले ६५ किलोमा, सुस्मिता वाइवाले ५५ किलोमा, शर्मिला श्रेष्ठले ४५ किलो तौल समूहमा स्वर्ण जिते । यस्तै, टिम कातातर्फ शर्मिला श्रेष्ठ, राशुगी पाण्डे र सानुमायाले स्वर्ण पदक हात पारेका थिए । ५० किलो तौल समूहमा नागार्जुन नगरपालिकाकै सानुमाया थिङले स्वर्ण पदक हात पारिन् । आयोजक चन्द्रपुर नगरपालिकाकी किमस लामाले २५ किलो तौल समूहमा, सुजिता घलानले ३० किलो तौल समूहमा स्वर्ण पदक हात पारे ।
त्यस्तै गोलबजार नगरपालिकाकी प्रसिया चौधरीले ४० किलो तौल समूहमा र खुस्वु खड्काले ६० किलो तौल समूहमा स्वर्ण पदक हात पारे । चन्द्रपुर नगरपालिकाको आर्थिक सहयोगमा भएको प्रतियोगितामा हरेक तौल समूहमा प्रथम हुने खेलाडीलाई नगद पाँच हजार, दोस्रो हुने खेलाडीलाई नगद तीन हजार र तेस्रो हुने खेलाडीलाई एक हजार नगद पुरस्कार, मेडल तथा प्रमाणपत्र वितरण गरिएको थियो ।
सो प्रतियोगितामा देशका विभिन्न १८ वटा नगरपालिका र आयोजक टिमका गरी दुई सय २५ जना महिला खेलाडीको सहभागिता थियो । लामो समयको बन्दाबन्दीपछि रौतहट जिल्लामा पहिलो पटक राष्ट्रियस्तरको प्रतियोगिता आयोजना नेपाल सितोरियो कराँते संघ रौतहटले जनाएको छ । विजयी खेलाडीलाई चन्द्रपुर नगरपालिकाकी उपप्रमुख रामरति चौधरी, नेपाल सितोरियो कराँते संघका अध्यक्ष दावा गुरुङ, चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण सिग्देल लगायतले पुरस्कार वितरण गरेका थिए ।