काठमाडौं, मंसिर २४ । नेपालमा विश्वकै अग्लो त्रिशुल स्थापना हुने भएको छ । विश्व हिन्दु युवा संघले पशुपती क्षेत्रस्थित गोरखनाथ मन्दिर मृगस्थलीमा हिजो(मंगलबार) एक कार्यक्रम आयोजना गरी सो को बारेमा जानकारी गराएको हो ।
पाँच करोडको लागतमा एक सय २१ फिट अग्लो उक्त त्रिशुल भक्तपुरको मूलकोटमा गाडिने भएको छ । जसमा योगी ब्याग्रह वेदनाथ, संरक्षक योगी श्रीषनाथ, संयोजक फलाहारी कालीबाबा रहेका छन् । त्रिशुल स्थापनाको सिलान्याय भने यहि मंसिर २७ गते हुने भएको छ ।
कार्यक्रमका सभापति ऋषिकेश जंग शाहले भने, ‘शिवको भूमीमा रहेका हामी सबै शिव सेना हौं । धार्मिक रुपले नेपाल गुरु राष्ट्र भनेर चिनिन्छ । सम्पूर्ण ज्ञानको श्रोत वेदको जन्म नेपालमा भएको हो । सर्वे भवन्तु सुखिन सर्वे सन्तु निरामया अर्थात् संसारमा भएका सबै जिवले सुख शान्तिले बाच्न पाउनु पर्छ भन्ने सारको आधारमा सम्पूर्ण चल्नु पर्छ, यहि उद्देश्यको लागि त्रिशुल गाड्न लागेका हौं ।’ त्यस्तै, कार्यक्रममा कामनपाका पूर्व मेयर, नेकपाका नेता तथा पूर्व मन्त्री केशव स्थापितले देशमा औषधीको रुपमा गाँजा खेती गरी त्यसलाई विश्व बजारमा पुर्याउनु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधी, त्रिमुल पार्टी नेपालका महासचिव तथागत स्वामी, वाचन शिरमणि पं.दिनबन्धु पोखरेल, लागूऔषध/गाँजा विज्ञ राजीव काफ्लेलगायतका वक्ताहरुले गाँजा, त्रिशुल र हिन्दु धर्मलाई प्राथमिकता दिदैँ आ–आफ्नो धारणा राखेका थिए ।