काठमाडौं, भाद्र १९ । पछिल्लो २४ घण्टामा अहिले सम्मकै सबैभन्दा बढी १३ सय ५९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । आजको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका प्रयोगशालामा १३ हजार ६३८ नमूना परीक्षण गर्दा ४६४ महिला र ८९५ पुरुषमा संक्रमण पुष्टि भएको हो । त्यस्तै, पछिल्लो २४ घण्टामा मात्र १३५४ जना निको भएका छन् ।
आज काठमाडौं उपत्यकामा मात्र ४५४ जना संक्रमित थपिएका छन् । काठमाडौंमा ३८६, भक्तपुरमा ३६ र ललितपुरमा ३२ जनामा संक्रमण पुष्टि भएको हो । यसअघि बिहिबार उपत्यकामा ४४५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यस्तै, आज चितवनका ८२ जना, सर्लाहीका ८०, मोरङका ७६, कैलालीका ५२, सुनसरीका ४९, बाँकेका ४८, महोत्तरीका ४६, रुपन्देहीका ४४, धनुषाका ४३, झापा र नवलपुरका २८–२८ जना, पर्साका २७, सप्तरी र गोरखाका २६–२६ जना, सुर्खेतका २२, बारा र जुम्लाा २१–२१ जना, कास्कीका २०, धादिङका १९, मकवानपुरका १८, बर्दियाका १४, रामेछापका १३, तनहुँका १२, लमजुङका १० र दैलेखका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै काभ्रे, कपिवलस्तु र दाङमा ७–७ जना, पाल्पामा ६, नुवाकोट र कञ्चनपुरमा ५–५ जना, सिन्धुपाल्चोक र डोटीमा ४–४ जना, स्याङ्जा, दार्चुला, बझाङ र बैतडीमा ३–३ जना, ओखलढुंगा, खोटाङ, रौतहट, दोलखा, सिन्धुपाल्चोक र गुल्मीमा २–२ जना तथा उदयपुर, सिराहा, रसुवा, म्याग्दी, बाग्लुङ, रुकुम पूर्व, रुकुम पश्चिम, सल्यान र अछाममा १–१ जना संक्रमित थपिएका छन् ।
हालसम्म देशभर कूल संक्रमितको संख्या ४४ हजार दुई सय ३६ पुगेको छ । जसमध्ये २७१ जनाको मृत्यु भएको छ भने २५ हजार ५६१ जना कोरोना मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा भने १४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । देशभरमा १८ हजार ४०४ जना सक्रिय संक्रमित छन् । जसमा संस्थागत आइसोलेशनमा १० हजार ९४२ जना रहेका छन् भने होम आइसोलेशनमा ७ हजार ४६२ जना रहेका छन् ।