काठमाडौं, साउन १७ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा संक्रमितको संख्या तीन सय १५ थपिएको जानकारी दिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार नाघेको छ । नेपालमा आजसम्म कोरोना संक्रमितको संख्या २० हजार ८६ पुगेका छ । प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार नौ सय ९३ जनाको पीसीआर परीक्षण भएकामध्येबाट तीन सय १५ जना संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सुनसरीका एक, कोशी अस्पताल विराटनगर प्रयोगशालामा झापाका एक, इलामका १७ र सिरहाका पाँच, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा झापाका एक, इलामका पाँच, उदयपुरका एक र मोरङका दुई, गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा सप्तरीका सात, नारायणी अस्पताल वीरगञ्जमा बाराका एक, पर्साका ६२, रौतहटका एक, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा बझाङका ४३, अछामका २८, कैलालीका नौ, कञ्चनपुरका आठ, काठमाडौंका दुई, धुलिखेल अस्पताल प्रयोगशालामा कैलालीका २७, काभ्रेपलाञ्चोकका एक, रामेछापका दुई, नेपाल प्रहरी अस्पताल प्रयोगशालामा काठमाडौंका एक, स्टार अस्पताल सानेपामा पर्साका तीन, नेपाल कोरियामैत्री अस्पताल भक्तपुरमा काठमाडौंका दुई, भक्तपुर र पर्साका एक–एक, प्रादेशिक क्षयरोग पोखरा प्रयोगशालामा कास्कीका एक, लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा रुपन्देहीका दुई, सुर्खेत प्रादेशिक अस्पतालमा सल्यानका एक, सेती प्रादेशिक अस्पताल धनगढीमा बझाङका २५, कैलालीका ५३ र कञ्चनपुरका एक जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ । त्यस्तै हालसम्म पिसिआर परीक्षण गर्नेको संख्या तीन लाख ८२ हजार चार सय ९० पुगेको छ ।
नेपालमा हालसम्म देखिएका २० हजार ८६ संक्रमितमध्ये १४ हजार चार सय ९२ जना निको भएर डिस्चार्ज भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल अस्पतालमा सक्रिय संक्रमित पाँच हजार तीन सय ३८ जना रहेका छन् । पछिल्लो २४ घण्टामा ९३ जना डिस्चार्ज भएका छन् । हाल क्वारेन्टीनमा ११ हजार पाँच सय ३३ जना रहेका छन् ।
हालसम्म नेपालमा कोरोना संक्रमित ५६ जनाको भने मृत्यु भएको छ । पछिल्लो समय वीरगञ्जकी ६८ वर्षीया एक महिलाको कोरोनाबाट मृत्यु भएको छ । ज्वरो र निमोनिया भएपछि उपचारका लागि बुधबार वीरगञ्जको बयोधा अस्पताल भर्ना भएकी वीरगञ्ज १६ नगवाकी उनको आज दिउसो मृत्यु भएको नारायणी अस्पतालका डा.रज सिंहले जानकारी दिए । उनमा श्वासप्रश्वासमा समस्या देखिएको थियो उनलाई बयोधा अस्पतालबाट थप उपचारका लागि नारायणी अस्पताल कोरोना विषेश अस्थायी अस्पताल गण्डकमा ल्याउने क्रममा बाटोमै मृत्यु भएको डा.सिंहले बताए । शुक्रबार अबेर राति आएको रिपोर्टमा मृतक महिलामा कोरोना संक्रमण पोजेटिभ देखाएको नारायणी अस्पतालका डा.सिंहले जानकारी दिए ।