काठमाडौं जेठ ३० । नेपालमा आज २४ महिलासहित चार सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा सो को जानकारी दिएका हुन् । यतिधेरै संख्यामा कोरोना संक्रमण पुष्टि भएको यो पहिलो पटक हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या पाँच हजार ६२ पुगेको छ । जसमा पुरुष चार हजार सात सय नौ र महिला तीन सय ५३ रहेका छन् । आज विराटनगर अस्पतामा गरिएको परीक्षणमा नौ जना, शिक्षण अस्पतालमा गरिएको परीक्षणमा १० जना, भरतपुर अस्पतालमा भएको परीक्षणमा आठ जना, पाटन अस्पतालमा गरिएको परीक्षणमा धादिङका एक जना, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३१ जना, कोशी अस्पतालमा भएको परीक्षणमा १७ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा ३७ जना, भेरी अञ्चल अस्पताल प्रयोगशालामा १६ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा ३२ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा २३, धुलिखेल अस्पतालमा आठ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा आठ जना, प्रादेशिक अस्पताल प्रयोगशाला सुर्खेतमा ८३ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा २४ जना र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा एक सय ४१ जनामा पोजेटिभ देखिएको हो ।
प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा करिब ६ सय जनाको पीसीआर परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट पाँच हजार नौ सय २५ र आरडिटी विधिबाट नौ हजार नौ सय नौ जनाको नमूना परीक्षण भएको छ । अहिलेसम्म पीसीआर विधिबाट एक लाख २१ हजार आठ सय ६२ र आरडिटी विधिबाट एक लाख ८८ हजार ५२ जनाको नमूना परीक्षण भएको छ । अहिले देशभरीका क्वारेन्टाइनमा एक लाख ५८ हजार ५० जना रहेका छन् । आइसोलेसनमा चार हजार एक सय ६९ जना उपचाररत रहेका छन् । शुक्रबार १६ जना डिस्चार्ज भएसँगै आजसम्म कूल आठ सय ७७ जना डिस्चार्ज भएका छन् ।
त्यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार अर्खाखाँचीका एक जना पुरुषको मृत्यु भएको छ । जेठ २९ गते कोरोना पोजेटिभ रिपोर्ट आएको अर्खाखाँचीका ५७ वर्षीय पुरुषको मृत्यु भने आज भएको हो । उनी भारतबाट १२ दिनअघि आएका थिए । उनमा श्वासप्रश्वासको समस्या देखिएको थियो । भारतबाट फर्किएपछि उनी क्वारेन्टाइनमा बसेका थिए । उनलाई स्वाशप्रश्वासमा समस्या भएपछि लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार गरी संक्रमणमुक्त नहुँदै डिस्चार्ज गरिएको थियो । उनलाई अर्घाखाँची लैजाने क्रममा कोभ्रेखोला भन्ने स्थानमा मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ ।