काठमाडौं, जेठ २७ । परराष्ट्र मन्त्रालयले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)लाई उपलब्ध गराएको स्वदेश फर्काउने सूचीका अनुसार सरकारले विभिन्न ३० देशबाट २४ हजार एक सय ४८ जना नेपालीलाई स्वदेश फर्काउने भएको छ । जसमध्ये मलेसियाबाट सबैभन्दा बढी ६ हजार चार सय ३५ जना आउँदैछन् भने लाओसबाट दुई जना आउने भएका छन् । सरकारले यसअगाडि विभिन्न १५ वटा प्राथमिकता तोकेर नेपाल फर्किन चाहनेको सूची तयार पार्न सम्बन्धित देशमा रहेका नियोगहरुलाई निर्देशन दिएको थियो ।
विभिन्न नियोगहरुबाट प्राप्त संख्या अनुसार अमेरिकाबाट पाँच सय ४३, ब्रिटिस टेरीटोरीबाट ४९, क्यानडाबाट ७८, साउदी अरबबाट तीन हजार तीन सय १२, युएईबाट चार सय १०, बहराइनबाट तीन सय ७२, इजरायलबाट ३९, युगाण्डाबाट एक सय ६१ नेपाली आउने भएका छन् । नइजेरियाबाट ९७, दक्षिण सुडानबाट १८, सुडानबाट ३१, मोरक्कोबाट ६३, कतारबाट ३ हजार ६ सय ८, थाइल्याण्डबाट ३ सय ५७, सिंगापुरबाट ६१ र कम्बोडियाबाट ४१ जना आउने भएका छन् । त्यस्तै भियतनामबाट ४, जापानबाट ९ सय १६, कोरियाबाट दुई सय ८२, बंगलादेशबाट एक सय ८०, श्रीलंकाबाट ३६, पाकिस्तानबाट एक सय २५, डेनमार्क, नर्वे, स्विडेन र फिनल्याण्डबाट ७६, ओमनबाट ६ सय ५६, साइप्रसबाट चार सय ७१, कुबेतबाट दुई हजार नौ सय ९१, माल्दिभ्सबाट सात सय २४ र अष्ट्रेलियाबाट एक हजार तीन सय रहेका छन् ।
यसअघि युएईबाट एक सय ६७ र म्यानमारबाट २६ नेपाली नेपाल आइसकेका छन् । यसैबीच आज राति अष्ट्रेलियाबाट ११ जना नेपाली आउँदैछन् भने बुधबार दुई सयदेखि तीन सयसम्म नेपाली युएईबाट आउने भएका छन् ।