काठमाडौं, जेठ २३ । विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या करिब चार लाख पुगेको छ । जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको आज बिहानसम्मको तथ्यांक अनुसार विश्वभर तीन लाख ८९ हजार ६ सय २० जनाको कोरोना संक्रमणपछि मृत्यु भएको छ भने विश्वभर ६५ लाख ९५ हजार तीन सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सबैभन्दा बढि मृत्यु हुनेको संख्या अमेरिकामा रहेको छ, जहाँ मृतकको संख्या एक लाख आठ हजार दुई सय आठ छ भने १८ लाख ७२ हजार दुई सय ६१ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, बेलायतमा ३९ हजार ९ सय ८७ को मृत्यु भएको छ भने संक्रमितको संख्या दुई लाख ८३ हजार ७९ पुगेको छ । इटालीमा मृत्यु हुनेको संख्या ३३ हजार ६ सय ८९ पुगेको छ भने दुई लाख ३४ हजार १३ जनामा संक्रमण पुष्टि भएको छ । ब्राजिलमा ३२ हजार पाँच सय ४८ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या पाँच लाख ८४ हजार १६ पुगेको छ । संक्रमितको संख्या रुसमा चार लाख ४० हजार पाँच सय ३८, स्पेनमा दुई लाख ४० हजार ६ सय ६० पुष्टि भएको छ ।
त्यस्तै, विश्वभर २८ लाख ५१ हजार एक सय ५७ जना संक्रमणमुक्त भएका छन् । तीमध्ये अमेरिकामा चार लाख ८५ हजार दुई, ब्राजिलमा दुई लाख ३८ हजार ६ सय १७, रुसमा दुई लाख चार हजार एक सय ९७ जना छन् ।
त्यसैगरी, भारतमा दुई लाख २६ हजार ७ सय १३ जनामा संक्रमण पुष्टि भएको छ । सर्वाधिक संक्रमण फैलिएका देशको सूचीमा भारत सातौं स्थानमा छ । सूचीको पहिलो स्थानमा अमेरिका छ । त्यसपछि क्रमशः ब्राजिल, रुस, बेलायत, स्पेन, इटाली लगायतका देश छन् । आहिलेसम्म भारतमा ६ हजार ३ सय ६३ जनाको मृत्यु भएको छ । भारतमा संक्रमणमुक्त हुनेको संख्या एक लाख आठ हजार चार सय ५० पुगेको छ ।
नेपालमा पनि २६ सय ३६ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । तीमध्ये दुई सय ९० जना संक्रमणमुक्त भएका छन् भने ११ जनाको मृत्यु भएको छ । पछिल्लो समय मृत्यु हुनेमा सुर्खेतस्थित पञ्चपुरी नगरपालिका–१ हाँसे गाउँका एक युवा रहेका छन् । बुधबार राति मृत्यु भएका ती युवा १४ दिन क्वारेन्टिनमा बसेर घर फर्किएका थिए । उनको घर फर्किएकै राति मृत्यु भएको हो । भारतबाट आएका २० वर्षीय ती युवा विद्यापुरमा रहेको जनता माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेका थिए । १४ दिन क्वारेन्टिनमा बसेका उनको र्यापिड डाईग्नोस्टिक टेस्ट (आरडिटी) गर्दा कोरोना भाइरस नेगेटिभ देखिएपछि घर पठाइएको थियो । कर्णाली प्रदेश अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. डम्बर खड्काका अनुसार बिहिबार उनको स्वाब संकलन गरी सुर्खेतमा रहेको प्रयोगशालामा पिसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । यो सँगै कर्णाली प्रदेशबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ । यसअघि दैलेखमा एकजनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको थियो ।