काठमाडौं, जेठ ११ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकले कतारमा कोरोना संक्रमित नेपालीको संख्या सात हजार हाराहारीमा पुगेको छ । एनआरएनएको स्वास्थ्य समितिको तथ्यांक अनुसार शनिबार साँझसम्ममा कतारमा छहजार नौ सय ११ जना नेपाली संक्रमित भएका हुन् ।
अघिल्लो हप्ता २५ सय नेपाली सङ्क्रमित भएकोमा यो हप्ता मात्रै थप ४४ सय ११ जनालाई कोरोना सङ्क्रमण देखिएको एनआरएनएको स्वास्थ्य समितिको तथ्याँकमा छ । त्यस्तै, नेपालीका मुख्य श्रम गन्तव्य अर्को देश यूएईमा पाँच सय नेपाली सङ्क्रमित भएका छन् । साउदीमा १३ सय ६४, बहराइनमा तीन सय ३१, कुवेतमा ८४, मलेसियामा ५५ जना नेपालीलाई कोरोना सङ्क्रमण भएको छ ।
त्यसैगरी, एनआरएनएको शनिबार(२३ मे २०२०) साँझसम्मको तथ्यांकअनुसार कोरोनाका कारण विश्वभर एक सय १७ नेपालीको मृत्यु भएको छ । एनआरएनएको स्वास्थ्य समिति संयोजक डा.सञ्जीव सापकोटाका अनुसार सबैभन्दा बढी बेलायतमा ६५ जना गैरआवासीय नेपालीको मृत्यु भएको छ । यस्तै संयुक्त अरब इमिरेट्स्ट (युएई) मा १८ जना नेपालीले ज्यान गुमाएका छन् । अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउने नेपालीको संख्या १६ पुगेको छ । साउदी अरबमा सात, कतारमा एक, आयरल्याण्डमा एक, जापानमा एक, टर्कीमा एक, नेदरल्याण्डमा एक, बहराइनमा एक, स्वीडेनमा एक, कतारमा एक र कुवेतमा एक र नेपालमा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ९५ पुरुष र १९ जना महिला रहेको स्वास्थ्य समितिले जनाएको छ । त्यस्तै, ५० देखि ९० वर्ष उमेर समुहमा सबैभन्दा धेरै ५३ प्रतिशतको निधन भएको छ ।