काठमाडौं, जेठ ७ । आज थप २५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाका अनुसार बाँकेका ६, धनकुटाका पाँच, कपिलवस्तुका १३ र नवलपरासी पश्चिमका एक जनामा कोरोना संक्रमण देखिएको हो ।
प्रवक्ता डा.देवकोटाका अनुसार बाँकेको नरैनापुर गाउँपालिकामा ५ का १७, २०, २८, ३० र ४० वर्षीय पुरुष तथा खजुरा गाउँपालिका ५ का २७ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ । नवलपरासी पश्चिममा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनी सुस्ता गाउँपालिका ५ को बेलवानी क्वारेन्टाइनमा छन् । धनकुटामा ५ जनामा २८, २९, ३५ र ३७ वर्षका पुरुष र २४ वर्षकी महिला हुन् । कपिलवस्तुमा थप १३ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु मध्ये २२, ३५ र ४८ वर्षीय पुरुष विजयनगरको क्वारेन्टाइनमा छन् । १० जना महाराजगञ्ज गाउँपालिकाका छन्, उनीहरु मध्ये तीन जना ३, ४ र ६ वर्षका बालिका हुन् । त्यस्तै १६, २५ र ३२ वर्षकी महिला र १२, २०, २४ र ३४ वर्षका पुरुषमा संक्रमण देखिएको छ ।
आज सात महिला र १८ जना पुरुषमा देखिएको संक्रमणसँगै नेपालमा कोरोना संक्रमितको संख्या चार सय २७ पुगेको छ, जसमध्ये पुरुष तीन सय ५८ र महिला ६९ जना छन् । प्रवक्ता देवकोटाका अनुसार अहिलेसम्म पीसीआर विधिबाट ३५ हजार चार सय ९४ र आरडीटीबाट ७५ हजार ७२ जनाको कोरोना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट दुई हजार चारसय ८८ र आरडीटी ३ हजार ६ सय १० जनाको कोरोना परीक्षण गरिएको छ । अहिलेसम्म नेपालमा क्वारेन्टाइनमा २३ हजार दुई सय दुई जना छन् । त्यस्तै, डिस्चार्ज हुनेको संख्या ४५ पुगेको छ । मृतकको संख्या दुई छ ।