काठमाडौं, चैत २९ । अमेरिकामा कोरोना भाइरस (कोभिड–१९)बाट अर्का एक जना नेपालीको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमणबाट न्युयोर्कको ज्याक्सनहाइटमा बस्ने ४७ बर्षका राजकुमार थापाको निधन भएको हो ।
गत मार्च १९ मा उनलाई कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार गरिएको बताइएको छ । न्युयोर्कको क्वीन्समा रहेको एल्महस्र्ट अस्पतालबाट नर्थ सेन्ट्रल ब्रोक्स अस्पतालमा ट्रान्सफर गरिएका उनको निधन भएको एल्महस्र्ट अस्पतालको डाइरेक्टरको कार्यालयले पुष्टी गरेको छ । डायरेक्टरको कार्यालयका अधिकारीले थापाको मृत्यु भएको जानकारी मेरिल्याण्ड राज्यको संसदका डेलिगेट ह्यारी भण्डारीलाई आज बिहान दिएका हुन् । गत मार्च १४ मा अस्पताल भर्ना भएका उनी हिडेरै अस्पताल पुगेका थिए । न्यूयोर्कमा उबर चलाउँदै आएका उनले कोरोनाको त्रासका कारण मार्चको शुरुदेखि नै उबर चलाउन छाडेका थिए । यसअघि कोरोना संक्रमणकै कारण अनिल सुब्बा, सोनाम लामा, थोक्मे बिष्ट, निमा टेम्बा शेर्पा र अजयमान छोचुको मृत्यु भइसकेको छ । अमेरिकामा यसअघि निधन हुने सबै पुरूष हुन् । नेपाली मुलका मानिस बसोबास गर्ने क्विन्समा मात्र सबै गरेर १४ सयको मृत्यु भइसकेको छ ।
कोरोनाबाट पछिल्लो २४ घण्टामा अमेरिकामा मात्रै दुई हजारभन्दा धेरैले ज्यान गुमाएका छन् । २४ घण्टामा विश्वभर सात हजार नौ जनाले ज्यान गुमाउँदा अमेरिकामा दुई हजार ४३ जनाको मृत्यु भएको छ । तथ्यांक अनुसार यो अहिलेसम्म एउटै देशमा २४ घण्टामा यति धेरैले ज्यान गुमाएको पहिलो पटक हो । सोही अवधिमा फ्रान्समा नौसय ८७, स्पेनमा छसय ३४, इटलीमा पाँचसय ७० जनाको ज्यान गएको छ । बेलायतमा २४ घण्टाको अवधिमा नौसय ८०, बेल्जियममा चारसय ९६ ले कोरोनाका कारण २४ घण्टामा ज्यान गुमाउनु परेको छ । पछिल्लो २४ घण्टामा कोरोनाका ९४ हजार एकसय आठ संक्रमित थपिएका छन् । यसमा अधिक संख्या अमेरिकामा छ । अमेरिकामा मात्रै ३३ हजार सात सय ५२ कोरोनाका नयाँ संक्रमितको पहिचान भएको छ । विश्वभर ४९ हजार कोरोना संक्रमितको अवस्था गम्भीर हुँदा अमेरिकामा मात्रै यो संख्या १० हजार नौ सय १७ रहेको छ ।
त्यसैगरी, जोन होप्किन्स विश्वविद्यालयको कोरोना भाइरस रिसोर्स सेन्टरका अनुसार शनिबार बिहानसम्म विश्वमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख दुई हजार ६ सय ७ रहेको छ भने संक्रमित हुनेको संख्या १६ लाख ९४ हजारभन्दा बढी रहेको छ । संक्रमितमध्ये करिब तीन लाख ७६ हजार भने निको भएको जोन होप्किन्स विश्वविद्यालयले जनाएको छ ।
अमेरिकामा मात्रै शनिबार बिहानसम्म १८ हजार ६ सय ३७ जनाको मृत्यु भएको छ । अमेरिकामा संक्रमितको संख्या करिब पाँच लाख रहेको छ भने निको हुनेको संख्या २८ हजार सात सय ९० रहेको छ । अमेरिकाका ५० वटै राज्यमा कोरोना भाइरसको संक्रमण फैलिएको छ भने न्युयोर्क सबैभन्दा बढी प्रभावित भएको छ । त्यस्तै शनिबार बिहानसम्म इटालीमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १८ हजार ८ सय ४९ रहेको छ । त्यस्तै इटालीमा संक्रमितको संख्या करिब एक लाख ४७ हजार रहेको छ । संक्रमितमध्ये करिब ३० हजार निको भएका छन् । त्यस्तै स्पेनमा १६ हजार आठ, फ्रान्समा १३ हजार दुई सय १५, बेलायतमा आठ हजार नौ सय ७४, इरानमा चार हजार दुई सय ३२, चीनमा तीन हजार तीन सय ४०, बेल्जियममा तीन हजार १९, जर्मनीमा दुई हजार सात सय ६७, नेदरल्यान्ड्समा दुई हजार पाँच सय २०, ब्राजिलमा एक हजार ६८, टर्कीमा एक हजार ६ र स्विजरल्यान्डमा एक हजार दुई जनाको मृत्यु भएको छ ।