काठमाडौं, चैत ७ । भारतले सन् २०१२ मा भएको निर्भया सामुहिक बलात्कार काण्डका चारै जना दोषीलाई आज बिहान मृत्युदण्ड दिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार निर्भया घटनाका दोषीहरु विनय शर्मा, पवन गुप्ता, मुकेश सिंह र अक्षय कुमारलाई दिल्लीको तिहाड जेलमा बिहान साढे ५ बजे मृत्युदण्ड दिइएको हो ।
बिहिबार निर्भया मामिलाका चार दोषीका तर्फबाट फाँसीको सजायविरुद्ध पटियाला हाउस कोर्ट र दिल्ली हाई कोर्टमा याचिका दायर गरे पनि दुबै अदालतले खारेज गरिदिएका थिए । दोषीहरुलाई फाँसीबाट बचाउन बिहिबार मध्यरातमा दिल्ली हाईकोर्टको ढोका ढकढकाए पनि न्यायाधीशहरु मनमोहन र सञ्जीव नरुलाको इजलासले याचिका खारेज गरिदिएको थियो । दोषीहरुका वकिल एपी सिंहले सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा पटियाला हाउस कोर्टले फाँसीमा रोक नलागाएको भन्दै दिल्ली हाईकोर्टमा याचिका दायर गरेका थिए । दिल्ली हाईकोर्टले याचिका खारेज गरेपछि दोषीहरुका वकिल अन्तिम अस्त्र प्रयोगका लागि मध्यरातमा सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्च अदालतका न्यायाधीश भानुमतिको अध्यक्षतामा रहेको विशेष इजलासले पनि दोषीहरुको तर्फबाट पेश गरिएको दलील कमजोर भएको उल्लेख गर्दै याचिका खारेज गरिदिएपछि उनीहरुलाई फाँसी दिइएको हो ।
दोषीहरुलाई मृत्युदण्ड दिइसकेपछि निर्भयाकी आमाले यो न्यायको जित भएको प्रतिक्रिया दिएकी छन् भने निर्भयाका बुवाले, ‘देशमा महिलाहरुका लागि यस्तो कानुन बनोस् कि जसमा मानिसहरुले लामो समयसम्म पर्खन नपरोस्’, भनेका छन् । यसअघि पटक पटक मृत्युदण्डको मिति सारिँदै आएको यो घटनासम्बन्धमा सात वर्षसम्म चलेको लामो कानुनी लडाइपछि दोषीहरुलाई सजाय दिइएको हो ।
घटना ?
डिसेम्बर १६, २०१२ मा साथीसँग बसमा हिँडिरहेका बेला एक २३ वर्षीया युवतीमाथि ६ जनाले सामुहिक बलात्कार गरेका थिए । उनीहरुले ती युवतीमाथि रडले आक्रमण गर्दै बलात्कार गरेका थिए । घटनाको ११ दिनपछि युवतीलाई सिंगापुर लगिए पनि त्यसको २ दिनपछि उनको मृत्यु भएको थियो । निर्भयाका दोषीलाई कडा सजाय हुनुपर्ने माग राख्दै भारतभर तथा विश्वका विभिन्न मुलुकमा व्यापक विरोध प्रदर्शनसमेत भएको थियो । नयाँदिल्लीको सडकमा राज्य सरकार र केन्द्र सरकारको विरोधमा हजारौं मान्छे सडकमा उत्रिएका थिए । भारतीय कानुनले बलात्कारपीडितको नाम सार्वजनिक गर्न नदिने भएकाले ती युवतीलाई निर्भया नाम दिइएको थियो । आफ्नो अन्तिम सास रहेसम्म पीडित युवती न्यायका लागि लडिरहेको भन्दै उनलाई निर्भयाका नामले चिनाउन थालियो । निर्भया मामिलामा भएका प्रदर्शन र आन्दोलन महिला प्रतिरोधी आन्दोलनका रुपमा विश्वमै समेत चिनिएको थियो ।
बलात्कार तथा आक्रमणमा बस ड्राइभरसहित अरु पाँच जनाको संलग्नता रहेको थियो । घटनाका मुख्य दोषी मानिएका बस ड्राइभरसमेत रहेका ३३ वर्षीय राम सिंहले भने २०१५ को मार्चमा मुद्दा चलिरहेकै क्रममा झुण्डिएर आत्महत्या गरेका थिए । त्यस्तै घटनामा संलग्न भनिएका एक व्यक्ति भने नाबालिग रहेको भन्दै ३ वर्ष सुधारगृहमा राखेर रिहा गरिएको थियो