काठमाडौं, चैत १ । चीनको वुहान शहरबाट विश्वव्यापी रुपमा कोरोना भाइरस आक्रामक रुपमा फैलन थालेपछि युरोपलाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना महामारीको अबको केन्द्रविन्दु भनेको छ । विश्व स्वास्थ्य संगठनका प्रमुख डा.टेडरोज आध्यनोम गेब्रेयेसोसले, ‘युरोप अब विश्वव्यापी कोरोनाभाइरस महामारीको केन्द्रबिन्दु हो’, भनेका छन् ।
यो भयानक आगोलाई फैलन दिनु हुँदैन भन्दै उनले युरोपेली देशहरुलाई मानिसहरुको जीवन बचाउन आक्रामक उपाय अबलम्बन गर्न र सामाजिक दूरी प्रयोग गर्न आग्रह गरे । युरोपियन देशहरुमा कोरोना भाइरसको संक्रमण र मृत्युदर आक्रामक रुपमा बढिरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । इटाली चीनपछि कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित देश हो । इटालीमा कोरोना भाइरसका कारण ज्यान गुमाउनको संख्या १२ सय ६६ पुगेको छ । इटालीपछि सबैभन्दा धेरै इरानमा ८५ जना, स्पेनमा ४७, फ्रान्समा १८ जनाले पछिल्लो २४ घण्टामा कोरोनाका कारण ज्यान गुमाएका छन् । ‘कोरोनाका कारण चीनबाहेक विश्वका बाँकी मुलुकहरू भन्दा युरोपमा बढी संक्रमित भएका र मृत्यु भएका घटना छन् । यसले युरोप अब महामारीको केन्द्रबिन्दु भएको बताउँछ’, डा. टेडरोजले भने ।
डब्लूएचओका अनुसार हालसम्म कोरोना भाइरसबाट एक लाख ३२ हजार पाँच सय ३६ जना संक्रमित भएका छन् भने चार हजार नौ सय ४७ जनाको मृत्यु भएको छ । एक सय २३ वटा देशमा कोरोना संक्रमित फेला परेका छन् । गत डिसेम्बरको अन्त्यतिर चीनको वुहान क्षेत्रमा पहिलो पटक देखिएको कोरोनाको संक्रमण पछिल्लो समयमा चीनमा कोरोनाको संक्रमण दर धेरै नै घटेको छ । यससँगै चीन सरकारले कोरोनाको माहामारीबाट मुक्त भएको घोषणासमेत गरिसकेको छ ।
त्यस्तै, अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा कोरोना भाइरसको संक्रमण रोकथामका लागि अनिश्चितकालीन संकटकाल घोषणा गरिएको जानकारी दिएका छन् । तर, अमेरिकामा संकटकाल कति दिनसम्म लागू हुन्छ भन्ने कुरा भने खुलाइएको छैन् । विश्व स्वास्थ्य संगठनले यसअघि कोरोना भाइरसको संक्रमणलाई ‘महामारी’ घोषणा गरेको थियो । संकटकाल घोषणासँगै अमेरिकाले अब संकट निवारणका लागि ५० अर्ब डलर खर्च गर्न सक्ने छ । साथै केन्द्र सरकारले अब अलग–अलग राज्य सरकार तथा प्रशासनसँग समन्वय गरेर अझै राम्रो काम गर्न सक्नेछ । ट्रम्पले भनेका छन्, ‘आउँदो हप्ता हाम्रा लागि निकै महत्वपूर्ण छ । कारोना भाइरस फैलिनबाट रोक्नका लागि हामी पूरै कोसिस गर्ने छौं । यो अप्ठ्यारो परिस्थितिको डटेर सामना गर्नेछौं ।’ शुक्रबार नै पत्रकारहरुसँग कुरा गर्दै उनले व्यक्तिगत सरसफाइमा ध्यान दिन सबै अमेरिकी नागरिकहरुलाई आग्रह समेत गरेका थिए । एजेन्सी