काठमाडौं, माघ २८ । नेपाल प्रहरीको २७औँ महानिरीक्षकमा ठाकुर ज्ञवाली नियुक्त भएका छन् । सोमबार बसेको बैठकले निर्णय लिन नसकेपछि आज अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले ज्ञवालीलाई महानिरीक्षकमा नियुक्त गरेको हो ।
विवादमा नपरेका उनलाई आइजीपी बनाउने विषयमा सोमबार गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच सहमति भएको थियो । दुई नेताबीचको छलफलपछि वरियताको पहिलो नम्बरमा रहेका ज्ञवालीलाई आइजीपी बनाउने प्रस्ताव गृहमन्त्रालयले मन्त्रिपरषद्मा लगेपछि सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा एक नम्बर प्रदेशका डिआइजी ठाकुर ज्ञवालीलाई नियुक्त गरेको हो ।
२०७४ चैतमा प्रतिस्पर्धी रमेश खरेललाई पछि पार्दै सर्वेन्द्र खनाल महानिरीक्षक बनेका थिए । २६औँ आइजीपी सर्वेन्द्र खनालले ३० वर्षे सेवा अवधि पूरा गरी मंगलबारदेखि अवकाश पाएपछि ज्ञवालीलाई आइजीपी बनाइएको हो । ज्ञवाली अबको पाँच महिनासम्म उक्त पदमा रहने छन् । असार अन्तिम साता उनी पनि ३० वर्षे सेवाअवधि पूरा गर्दै छन् । आइजीपी खनालसहित तीन एआइजी र १८ डिआइजीले ३० वर्षे उमेर हदका कारण मंगलबारबाट अवकाश पाएका छन् । अवकाश पाउनेमा एआइजीहरुमा पुष्कर कार्की, धीरु बस्न्यात र ठूले राई, डिआइहरुमा राजेन्द्रमान श्रेष्ठ, मनोज न्यौपाने, महेन्द्र पोखरेल, नारायणसिंह खड्का, सुरेशबिक्रम शाह, महेश बिक्रम शाह, पिताम्बर अधिकारी, केदार रिजाल, शेरबहादुर बस्नेत, दिनेश अमात्य, कमल जिटी, सुरज केसी, रामप्रसाद श्रेष्ठ, पूर्णचन्द्र जोशी, विकास श्रेष्ठ, हरिभक्त जोशी, विनोद शर्मा घिमिरे र दानसिंह बोहोरा रहेका छन् भने एसएसपी दिलिपसिंह बस्नेतले पनि अवकाश पाएका छन् । आइजीपी खनालसँगै सबै २०४६ माघ २९ मा प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका थिए ।
नयाँ आइजीपीका लागि तीनजना डिआइजी प्रतिस्पर्धामा देखिएका थिए । यसअघि एआइजीबाट आइजीपी हुने गरेका थिए । तर, यो पटक आइजीपीसँगै सबै एआइजीले पनि अवकाश पाएपछि डिआइजीबाटै सीधैं आइजीपी चयन गरिएको हो । आइजीपीका लागि प्रदेश १ का डिआइजी ठाकुर ज्ञवाली, सुदूरपश्चिम प्रदेशका डिआइजी तारिणीप्रसाद लम्साल र प्रहरी प्रधान कार्यालयका डिआइजी सूर्यप्रसाद उपाध्यायबीच प्रतिस्पर्धा चलेको थियो ।
प्यूठानमा जन्मिएका ज्ञवाली हाल काठमाडौंको वनस्थलीमा बस्दछन् । उनी २०४७ साल असार २५ गते प्रहरी निरीक्षकबाट प्रहरीमा भर्ना भएका थिए । प्रहरीमा उनी सालिन र प्रचार नचाहने प्रहरी अधिकारीका रुपमा चिनिन्छन् । उनी २०७५ असोज २० गते डिआइजीमा बढुवा भएका थिए । तर ज्ञवालीसँगै डिआइजी बनेका ११ अधिकृतमध्ये पहिलो नम्बरका विनोद शर्मा घिमिरे र दोस्रो नम्बरका विकास श्रेष्ठले मंगलबारै अवकाश पाएका छन् । डिआइजीमा बढुवाका बेला तेस्रो रोलक्रममा रहेका उनी आइजीपी हुने बेला पहिलो रोलक्रमा आएका हुन् ।