काठमाडौं, माघ ५ । त्रिभुवन आर्मी क्लबले मनमोहन मेमोरियल (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । सुनसरीको इनरुवामा सम्पन्न प्रतियोगिताको फाइनलमा शनिबार नेपाल पुलिस क्लबलाई ८५ रनले पराजित गर्दै आर्मीले उपाधि जितेको हो ।
आर्मीको लगातार यो दोस्रो जित हो । अघिल्लो वर्ष पनि आर्मीले पुलिसलाईनै पराजित गरेर उपाधि जितेको थियो । आर्मीले दिएको एक सय ८५ रनको लक्ष्य पछ्याउने क्रममा पुलिसले २४.४ ओभरमा ९९ रनमै सम्पूर्ण विकेट गुमाउन पुग्यो । पुलिसको लागि कुशल भुर्तेलले सर्वाधिक ३१ रन, अमित श्रेष्ठले २३ रन तथा अनिल साहले २१ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । पुलिसलाई सानो योगफलमा समेट्न आर्मीका देब्रे हाते स्पिनर सुशन भारिले ४ विकेट लिए । ६ ओभरमा भारिले २४ रन खर्चिए । त्यस्तै, अर्का देब्रे हाते स्पिनर शाहब आलमले ३ विकेट लिए जुन क्रममा ६.४ ओभरमा १ मेडन ओभर गर्दै ३३ रन खर्चिए । कुशल मल्लले २ विकेट तथा बिक्रम सोबले १ विकेट लिए । यस अघि टस हारेर ब्याटिङ गरेको आर्मीले ४८.५ ओभरमा १ सय ८४ रनमा सबै विकेट गुमाएको थियो । आर्मीको ब्याटिंगमा कप्तान बिनोद भण्डारीले सर्वाधिक ४० रन योगदान दिए । उनले ६६ बलमा ४ चौका प्रहार गरे । त्यस्तै, राजेश पुलामीले ३१ रन, राजु रिजालले २२ रन, बिक्रम सोबले १५ रन तथा कुशल मल्लले १३ रन तथा रोहित पौडेलले ११ रन बनाए । पुलिसको बलिंगमा देब्रे हाते स्पिनरद्वय ललित राजबंशी र सागर ढकाल तथा अफ स्पिनर दिपेन्द्र ऐरीले समान ३ विकेट लिए । ढकालले १० ओभरमा १ मेडन गर्दै २९ रन, राजबंशीले १० ओभरमा १ मेडन गर्दै ३२ रन तथा ऐरीले ९.५ ओभरमा २७ रन खर्चिए । पवन सर्राफले १ विकेट लिए । फाइनल खेलको प्लेयर अफ दी म्याच आर्मीका सुशन भारि चुनिए ।
उपाधिसँगै आर्मीले चार लाख पाँच हजार रुपैयाँ तथा उप विजेता पुलिसले दुई लाख पाँच हजार रुपैयाँ प्राप्त गर्यो । प्रतियोगिताकै उत्कृष्ट खेलाडी आर्मीका देब्रे हाते स्पिनर सुशन भारि चुनिए र उनले ५५ हजार रुपैयाँ हात पारे । भारिले चार खेलमा कूल १५ विकेट लिए । यस्तै प्रतियोगिताको उत्कृष्ट बलर ३ खेलमा १४ विकेट लिएका सुदुरपश्चिमका बिनोद लामा तथा उत्कृस्ट ब्याट्सम्यान ४ खेलमा १ शतक सहित १ सय ९६ रन बनाएका त्रिभुवन आर्मी क्लबका कुशल मल्ल चुनिए । उत्कृष्ट बलर र उत्कृस्ट ब्याट्सम्यानले जनही २१ हजार रुपैयाँ प्राप्त गरे ।
विजेता खेलाडीहरुलाई नेकपाका प्रदेश १ इन्चार्च तथा पूर्व पर्यटनमन्त्री भिमप्रसाद आचार्य तथा मनमोहन मेमोरियल क्रिकेट सेन्टरका अध्यक्ष ठाकुर गैरे, इनरुवा नगरपालिकाका मेयर राष्ट्रिय खेलकुद परिषदका सदस्य सम्भु आचार्य तथा मनमोहन मेमोरियल क्रिकेट सेन्टर प्रदेश १ का अध्यक्ष विप्लव घोषले पुरस्कार वितरण गरेका थिए । मनमोहन मेमोरियल क्रिकेट सेन्टर प्रदेश १ ले आयोजना गरेको प्रतियोगितामा सात वटा प्रदेश, तीन विभागीय, एक मलेसिया राष्ट्रिय टिम र एक आयोजक टोली गरी कूल १२ टोलीको सहभागिता रहेको थियो ।