काठमाडौं, मंसिर २७ । पश्चिम न्यून चापीय प्रणालीको प्रभावले आज बिहानैदेखि हिमाली भेगमा हिमपात तथा तराई र पहाडका क्षेत्रमा वर्षा र शीतलहर सुरु भएसँगै देशभर चिसो बढेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हुम्लासहित कर्णालीका उच्च हिमाली भाग, मुस्ताङलगायतका क्षेत्रमा शुक्रबार बिहानैदेखि भारी हिमपात भइरहेको छ । मुस्ताङको न्यूनतम तापक्रम माइनस १५ डिग्री सेल्सियसमा झरेसँगै त्यहाँका खोला तथा ताल जमेका छन् भने जनजीवन प्रभावित भएको छ ।
चिसो बढेसँगै मुस्ताङका खोला तथा तालमा पानी जमेको छ । चिसोका कारण उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङका खोला र धारामा पानी जमेको स्थानीयवासीको भनाई छ । त्यस्तै, पानी जमेर धारामा आउन छाडेको छ । यसैगरी सदरमुकाम जोमसोम नजिकै घरपझोङ गाउँपालिका–५ मा रहेको धुम्बा तालमा पनि पानी जमेको छ । तालमा पानी जमेको हेर्ने पर्यटकको चहलपहल बढेको वडाध्यक्ष वीरेन्द्र थकालीले बताए ।
बुधबार साँझदेखि नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभावले देशभरि चिसो बढेका बेला काठमाडौंको चन्द्रागिरिमा हिउँ परेको छ । हिमपातसँगै काठमाडौं उपत्यकामा पनि चिसो बढेको महशुस भएको छ । शुक्रबार बिहानदेखि नै काठमाडौं उपत्यकासहित पूर्वी भागमा पनि आकाश बादलले भरिएको छ ।
हिमपातले डोटी, डोल्पालगायत क्षेत्रको जनजीवन पनि प्रभावित भएका छन् । पश्चिमी उच्च पहाडीसहित हिमाली भू–भागमा भारी हिमपात भएकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले सबैमा अनुरोध गरेको छ । विभागका अनुसार हिमपातको यो सिलसिला मंसिर २९ गतेसम्म जारी रहने छ । त्यस्तै तराईका भाग भने शीतलहर र तुवालोको चपेटामा परेका छन् । तुवालो लागेपछि तराईका कतिपय जिल्लाको हवाई उडान प्रभावित भएका छन् ।
डोटीलगायत पहाडी तथा हिमाली जिल्ला बझाङ, बाजुराका उच्च लेकाली क्षेत्रमा हिमपात भएको छ । डोटीकोे खप्तडस्थित झिगराना, गोलादेउ, पानीखाल, नापानी, शिखर, गोवडालेक, बडीकेदारथानलगायत उच्च पहाडी क्षेत्रमा हिमपात भई चिसो बढेकाले गाईवस्तु चराउन समस्या भएको खप्तड क्षेत्रसँगै जोडिएको पूर्वीचौकी गाउँपालिकाका स्थानीयवासीले बताए । यतिबेला त्यहाँ हिमपातका कारण स्थानीयवासी घरबाहिर निस्किन नसकेकाले घरभित्रै आगो तापेर बस्न बाध्य भएका छन् ।
त्यसैगरी, गोरखाको सामागाउँ, साम्दो, लार्के, छेकम्पारलगायतका क्षेत्रमा बिहिबार रातिदेखि लगातार हिमपात भएको स्थानीयले बताएका छन् । अहिले लाप्राकको एकीकृत नमुना बस्तीका सबै घरहरु हिउँले ढाकिएर सेताम्य देखिएको छ ।