बुटबल, कात्तिक २५ । नेपाल मार्शल आर्टस् हाप्किडो संघ प्रदेश ५ को पहिलो अधिवेशनले रुपन्देहीका धनबहादुर दमाईको अध्यक्षतामा १३ सदस्यीय प्रदेश समिति चयन गरेको छ । बुटबलमा आइतबार सम्पन्न अधिवेशनले उपाध्यक्षमा विश्वास गुरुङ र यमु थापा, सचिवमा भुवन बुढामगर र कोषाध्यक्षमा मुक्ति पोखरेललाई चयन गरेको हो ।
सदस्यद्वयमा यमुना घर्ती मगर, रामु सुनार, रमेश महरा, राधा पौडेल, देवु थापा, टुल्केबहादुर थापा, सागर सिंहखवास र प्रेमबहादुर खड़का चयन भएका छन् । अधिवेशनको प्रदेश समितिमा रुपन्देही, पाल्पा, नवलपरासी, अर्घाखाँची, गुल्मी, कपिलबस्तु, बाँके, बर्दिया, दाङ, प्यूठान, रोल्पा र रुकुमका प्रतिनिधिहरु सहभागी थिए ।
अधिवेशन कार्यक्रममा प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले नयाँ नेतृत्वलाई बधाई तथा शुभकामना दिँदै अबको केहि महिनामा प्रदेश खेलकुद परिषद्लाई पूर्णता दिने बताए । उनले खेलकुद विकासको लागि मन्त्रालयले पूर्वाधारको अधिकतम योजना बनाएको समेत जानकारी दिए ।
त्यसैगरी, कार्यक्रममा नेपाल मार्शल आर्टस् हाप्किडो संघका केन्द्रीय अध्यक्ष काली बहादुर घर्ती मगरले आगामी दुई वर्षभित्र संघलाई ७७ जिल्लामा पूर्णता दिई जिल्ला, प्रदेश, राष्ट्रिय प्रतियोगिता र सेमिनारलाई निरन्तरता दिने र भविष्यमा बृहत अन्तर्राष्ट्रिय प्रतियोगिता गर्ने लक्ष्य लिएको बताए ।