सिन्धुपाल्चोक, कात्तिक १८ । सुनकोसी नदीमा यात्रुवाहक बस खस्दा कम्तीमा १७ जनाको मृत्यु भएको छ । दोलखाको मागा देउरालीबाट काठमाडौंतर्फ गइरहेको बा २ ख ७२४५ नम्बरको बस आइतबार दिउँसो चौतारा साँगाचोकगढी नगरपालिकाको सुकुटेनजिकैबाट नदीमा खस्दा पाँच बालबालिकासहित १७ जनाको मृत्यु भएको हो । दुर्घटनामा ५१ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा १२ महिला र पाँच पुरुष रहेको सिन्धुपाल्चोकका डीएसपी माधव काफ्लेले जानकारी दिए । १५ जनाको घटनास्थलमा र दुई जनाको उपचारका क्रममा मृत्यु भएको थियो । नदीमा केही यात्रु बेपत्ता भएकाले मृतकको संख्या बढ्न सक्ने प्रहरीको अनुमान छ । बस सडकबाट करिब २० मिटर तल नदीमा खसेको छ । आइतबार साँझसम्म १० जनाको सनाखत भएको छ । दुर्घटनामा सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका–४ की ३० वर्षीया चमेली श्रेष्ठ र उनकी ६ वर्षीया छोरी साइरानी, दोलखा भीमेश्वर नगरपालिका–९ की २४ वर्षीया रञ्जिता केसी, शैलुङ गाउँपालिका–३ की ५० वर्षीया रत्नकुमारी राउत, उनका २८ वर्षीय छोरा किरण राउत, सोही ठाउँकी तीन महिनाकी शिशु सिसन तामाङ, शैलुङ –५ का रितेश खड्का र शैलुङ–७ की कविता राउतको घटनास्थलमा मृत्यु भएको डीएसपी काफ्लेले जानकारी दिए । चार महिला र चार पुरुषको सनाखत हुन सकेको छैन ।
बनेपास्थित सिर मेमोरियल अस्पतालमा शैलुङ–४ की ६ वर्षीया बालिका सलिना तामाङ र धुलिखेल अस्पतालमा ५२ वर्षीया चेतकुमारी बस्नेतको मृत्यु भएको थियो ।
घाइते ५१ जनालाई धुलिखेल अस्पताल लगिएको छ । गम्भीर दुईजनालाई काठमाडौं रिफर गरिएको धुलिखेल अस्पतालले जनाएको छ । चालक धनबहादुर श्रेष्ठ गम्भीर घाइते छन् । दुर्घटनाको कारण खुलेको छैन ।
स्काभेटरले नदीबाट बस निकालेपछि घाइतेको उद्धार गरिएको थियो । उद्धारका लागि रिसोर्टका याफ्टिङ बोट पनि प्रयोग गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी प्रज्ज्वल महर्जनले जानकारी दिए । उद्धारका लागि स्थानीय, याफ्टिङ गाइड, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेना खटिएका थिए । –अन्नपूर्ण पोस्ट्बाट