काठमाडौं, कात्तिक ११ । आज यमपञ्चक गाई, गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । हिन्दु धर्मावलम्बीहरुले आ–आफ्नो घर आँगनमा गाईको गोबर र रातोमाटोले लिपपोत गरी गोबर्धन पर्वतको आकृति बनाई गोवर्धन पूजा गर्दछन् । कृषकको जमिन जोत्न र गाडा तान्न सहयोग गरेकाले विभिन्न परिकार गोरुलाई खुवाउने र पूजा गर्ने परम्परा छ ।
गाईबस्तु पाल्ने कृषकका लागि घाँसपात उपलब्ध गराएर सहयोग पुयाउने भएकाले पर्वतको प्रतिनिधि गोबर्धन पर्वतको पनि आजै पूजा गरिन्छ । द्ववापरयुगमा भगवान श्रीकृष्णले आफ्नै हातले गोबर्धन पर्वत उचाली गोकुलवासीलाई बर्षा र डुबानबाट बचाई इन्द्रको घमण्ड नष्ट गरेकाले त्यसै बेलादेखि गोबर्धन पर्वतको पूजा गर्ने चलन चलेको हो भन्ने धार्मिक विश्वास छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा.डा.रामचन्द्र गौतमका अनुसार नेपालका कतिपय भाग र केही समुदायमा कात्तिक कृष्ण औँसीकै दिनमा गाईपूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको शुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको छ ।
गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ ।
आज गाईपूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत रहेको छ । वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजाआजा गरी मीठा–मीठा खानेकुरा खान दिने प्रचलन छ ।
दुई दिन आत्म (म्हः) पूजा
समितिले आजै नेवार समुदायले गर्दै आएको आत्म (म्हः) पूजा गर्नुपर्ने निर्णय गरेको छ । नेवार समुदायका मानिस भने आत्मपूजा आज र भोलि दुई दिन गर्नेमा विभाजित भएका छन् ।
विशेषगरी पहाडी जिल्लाका नेवार समुदायले आजै आत्मपूजा गरी मङ्गलबार भाइटीका लगाउने तयारी गरेका छन् । उपत्यका र बाक्लो नेवारी बस्ती भएका स्थानमा भने नेवार समुदाय म्हःपूजा एवं भाइटीका मनाउन विभाजित भएका छन् ।