सिन्धुली, कात्तिक ९ । सिन्धुलीको मरिण गाउँपालिकाका सबै वडा कार्यालयमा सचिवविहीन छ । सरकारले पटक–पटक गरी कर्मचारी समायोजन गरे पनि मरिण गाउँपालिकाका वडा कार्यालयहरूमा भने सचिव पठाउँन नसक्दा अढाई वर्षदेखि वडा कार्यालयहरू सचिवविहीन भएका हुन् ।
नेपालको संविधान २०७२ अनुसार २०७३ फागुन २७ गतेबाट साविक कपिलाकोट, कल्पवृक्ष र महादेवस्थान गाविसलाई समेटेर मरिण गाउँपालिकाको गठन भए पनि वडा कार्यालयका लागि दरबन्धीअनुसारको सचिव नपाएको उक्त गाउँपालिकाका अध्यक्ष पानिराज बम्जनले जानकारी दिए ।
गाउँपालिकामा जम्मा ७ वटा वडा कार्यालयहरू रहेका छन् । तर, ती सबै वडा कार्यालयहरू सहायक स्तरका कर्मचारीको भरमा स्थापनादेखि नै संचालन हुँदै आएको उनले जनाए । यस्ता वडा कार्यालयको सचिव सुब्बास्तरको हुने व्यवस्था छ । ‘तर, संघीय सरकारले गाउँपालिकामा खरदारस्तरका समेत कर्मचारी पठाउन नसक्दा अहिले सहायक स्तरका कर्मचारीहरूको भरमा वडा कार्यालय संचालन गर्नु पर्ने बाध्यता छ’, उनले थपे ।
दरबन्धीअनुसारका सचिवहरू नहुँदा स्थानीय सरकारले चाहेअनुसारका काम गर्नसमेत नसकेको अध्यक्ष बम्जनको दुखेसो छ । ‘कतिपय निर्णयहरू कार्यान्वयन गर्ने र काम गर्ने शिलशिलामा तल्लो तहका कर्मचारी मात्र हुँदा समस्या हुँदो रहेछ’, उनले भने, ‘हामीले प्रदेश र संघीय सरकारलाई पटक–पटक दरबन्धीअनुसारका कर्मचारी पठाई दिन आग्रह गर्दा पनि सुनुवाई भएको छैन ।’
स्थानीय तह लागू हुँदा ७ वटा वडामध्य तीनवटा वडामा खरदार र सुब्बा सो सरहका कर्मचारी भए पनि दुई जनाको अवकाश भएको र एक जना संघमा सरुवा भएर गएपछि वडाका सम्पूर्ण कामहरू सहायक कर्मचारीहरूले गर्दै आएको बताइएको छ । –अन्नपूर्ण पोस्ट्बाट