काठमाडौं, कार्तिक १ । गैरआवासीय नेपाली संघ (एनआरएनए )को नवौं विश्व सम्मेलनबाट अध्यक्षमा कुमार पन्त विजयी भएका छन् । आज सकिएको मतगणना अनुसार पन्त अध्यक्षका अर्का प्रत्यासी कुल आचार्यलाई एक सय ३५ मतले पछि पार्दै एनआरएनएको अध्यक्षमा विजयी भएका हुन् । उनले एक हजार ९४ मत प्राप्त गरे भने आचार्यले जम्मा नौ सय ५९ मत पाए । नेकपा निकटबाट पन्त जर्मनी र काँग्रेस निकटबाट आचार्य बेलायतमा रहेर व्यवसाय गर्छन् । उनीहरुले प्यानल नै बनाएर चुनाव लडेका थिए ।
त्यस्तै, उपाध्यक्षमा बद्री केसी, अर्जुन कुमार श्रेष्ठ, सोनम लामा, मन केसी र रविना थापा विजयी भएका छन् । एनआरएनएको महासचिवमा हेमराज शर्मा, कोषाध्यक्षमा पन्त समूहकै महेशकुमार श्रेष्ठ विजयी भएका छन् । सचिवमा गौरी जोशी, आरके शर्मा विजयी भएका छन् । यस्तै, सह–कोषाध्यक्षमा लोक दाहाल र भुमा लिम्बु विजयी भएका छन् ।
बिहीबार राति ११ बजेदेखि सुरु भएको मतगणना भर्खरै सकिएको हो । आगामी दुई वर्षको नेतृत्व चयनका लागि भएको निर्वाचनमा दुई हजार तीन सय ४० मत खसेको थियो । ८१ देशबाट सम्मेलनमा भाग लिन एनआरएनएका प्रतिनिधि नेपाल आएका थिए ।
निर्वाचित पन्तः
गोरखा फुजेलमा जन्मेका पन्त सन् १९९७ मा पढ्न ग्रीस पुगेका थिए । तर लामो समय त्यहाँ बसेनन्, केही महिनापछि उनी जर्मनी पुगे । उनले जर्मनीबाटै राजनीतिशास्त्रमा स्नातक गरेका छन् । जर्मन पुगेको केही समयमा उनले होटलमा काम सुरू गरे । कोरियनले सञ्चालन गरेको होटलमा उनी चार वर्षसम्म म्यानेजर भए । त्यसपछि आफैंले होटल किनेर सञ्चालन गर्न थाले । ३६ कोठाको एउटा होटलबाट व्यवसाय सुरू गरेका पन्तको अहिले जर्मनी, बेल्जियम, स्वीट्जरल्याण्डमा गरी २९ वटा होटल छन् ।
व्यवसायसँगै पन्त एनआरएनएमा पनि निरन्तर लागिरहे । सन् २००४ सालमा एनआरएनए जर्मनी राष्ट्रिय परिषद् गठन गरी क्षेत्रीय सदस्य बने । केही महिनापछि उनी संयोजक पनि भए । सन् २००९ मा अन्तर्राष्ट्रिय समन्वय परिषद्, २०११ मा युरोप क्षेत्रको संयोजक निर्वाचित उनी २०१३ देखि १५ सम्म अन्तर्राष्ट्रिय समन्वय परिषद्को महासचिव थिए । त्यसबेला शेष घले पहिलोपटक अध्यक्ष भएका थिए । सन् २०१५ देखि दुई कार्यकाल पन्त उपाध्यक्ष नै रहेका थिए ।