मोरङ, असोज २७ । दाइजोको निहुँमा भारतीय सीमा जोगवनीमा एक महिलाको हत्या भएको छ । विराटनगर–११ पञ्चमुखी चोक माइतीघर भएकी २२ वर्षीया रञ्जना सहनी (बहरदार)को जोगवनीमा हत्या भएको हो ।
उनको शव भारतको अररिया जिल्लास्थित परवाना नदीको मिरगन्ज पुल नजिकै हत्या गरी फालेको अवस्थामा शनिबार फेला परेको थियो । शव स्थानीयले खोलामा देखेपछि जोगवनी स्थित भारतीय प्रहरीलाई खबर गरेका थिए । शव भारतमानै पोष्टमाटमका लागि राखिएको छ । पोष्टमार्टमपछि नेपाल ल्याएर दाहसंस्कार गरिने मृतकका बुबा मनिकचन्द सहनीले बताए । उनी बिहिबारबाट हराएको भन्दै रञ्जनाका श्रीमान भीमले माइतीमा खबर गरेका थिए ।
जोगबनी प्रहरी थानाका प्रमुख अफताब अहमदका अनुसार हत्यामा संलग्न रञ्जनाका श्रीमानसहित चार जनालाई नियन्त्रण लिएको छ । पक्राउ पर्नेमा श्रीमान् भीम बहरदार, जेठाजु अर्जुन बहरदार, ससुरा सैनी बहरदार, छिमेकी शिवानन्द मुखिया रहेका छन् । रञ्जनाका माइती पक्षले भारतीय प्रहरी समक्ष पक्राउ परेका चार जनाविरुद्ध ज्यान मुद्दा दर्ता गराएका छन् । उनीहरुमाथि थाना कार्ड नम्बर ३०३ र १९ को दफा ३०४ बि, २०१ र भारतीय दण्ड विधान ३४ अन्तर्गत मुद्दा दर्ता भइसकेको जोगवनी प्रहरी थाना प्रमुख अहमदले बताए ।
यस्तो छ हत्याको कारण
रञ्जनाको गत फागुनमा भारत अररिया ताकियाका २५ वर्षीय भिम बहरदारसँग मागी विवाह भएको थियो । विवाहमा माइतीले थोरै दाइजो दिएको भन्दै सोही समयदेखि बहरदार परिवारले छोरीलाई मानसिक र शारीरिक यातना दिनेगरेको रञ्जनाका बुबा मनिकचन्द सहनीले बताए । ‘छोरीलाई विवाहपछि दाइजोको कुरामा धेरै यातना दिएछन्, घरमा रुदै सुनाउथी, अहिले हत्या गरेर फालेछन्,’ सहनीले भने ।
छोरीलाई दैनिक यातना दिएपछि माइती पक्षले केही समय अगाडि मात्र मोटरसाइकलसमेत किनेर दिएको सहनीले बताए । ‘हामीले केही दिन अघि मात्र ९० हजारको मोटरसाइकल किनिदिएका थियौं, फेरि छोरीका सासु ससुरा र श्रीमानले दुई लाख पैसा पसल गर्न भनेर मागे, त्यो दिन नसकेपछि यसरी हत्या भएको हो,’ उनले भने । पछिल्लो माग गरेको दुईलाख नदिएकै कारण रञ्जनाको हत्या भएको रञ्जनाका हजुरबुबा उमालाल सहनीले बताए । ‘हामीले सकेका जति दिएका थियौ, मोटरसाईकल पछि पुन पैसा मागे दिन सकिएन, अहिले हत्या गरेर फालेको सुने,’ उमालालले भने ।
हत्या गरेर खोलामा फालेपछि आफुहरुलाई हराएको भन्दै खबर गरेको रञ्जनाका बुबा मनिचन्द्रको भनाइ छ । ‘हत्या गरेर फालेछन्, अनि हराइ भनेर खबर गरे, त्यतिखेरै मारेर फाले भन्ने त शंका लागेको थियो,’ उनले भने । -अन्नपूर्ण पोस्ट्बाट