काठमाडौं, असोज २० । बलात्कार प्रयास गरेको अभियोग लागेका प्रतिनिधिसभाका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले पक्रेको छ । काठमाडौं जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेपछि प्रहरीले महरालाई सभामुख निवास बालुवाटारबाट आइतबार साँझ पक्राउ गरेको महानगरी प्रहरी प्रमुख डीआइजी शैलेश थापा क्षेत्रीले जानकारी दिए । महरालाई सिंहदरबार प्रहरी वृत्त पुर्याएको छ ।
यसअघि काठमाडौं जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलाशले महरालाई पक्राउ गर्न अनुमति दिएको थियो । प्रहरीले जिल्ला अदालत काठमाडौंमा पक्राउ पूर्जी जारी गर्न दिउँसो निवेदन दिएको थियो।
महरामाथि आरोप
महराविरुद्ध संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीले आफूलाई बलात्कार प्रयास गरेको आरोप लगाएकी छन् । महरासँग पारिवारिक सम्बन्धमा रहेकी ती महिलाले शनिबार महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरमा किटानी जाहेरी दिएकी हुन् ।
उनले असोज १२ गते राति आफ्नो कोठामा आएका महराले बलात्कार प्रयास गरेको आरोप लगाएकी छन् । यसअघि दुईवटा भिडियो अन्तर्वार्तामा उनले परस्पर विरोधी कुरा गरेकी थिइन् । पहिलो भिडियोमा उनले आफूलाई महराले बलात्कार गरेको दाबी गरेकी थिइन् । र, दोस्रो भिडियोमा महरा ‘बाबुसमान रहेको’ भन्दै महरामाथि लागेका सबै आरोपलाई ‘षड्यन्त्र’ भनेकी थिइन् । ती महिलाले नागरिकखबरबाट आफ्नो परिचयसहित परस्पर विरोधी बयान दिएपछि पहिलो भिडियो अन्तर्वार्ता सार्वजनिक गर्ने हाम्राकुरा अनलाइनले पहिले खिचिएको भिडियो सार्वजनिक गरेको थियो । तेस्रो भिडियोमा महरा र आफूबीच भएका च्याट, म्यासेजहरूलाई उनले आफूमाथि दुर्व्यवहार भएको पुष्टि गर्ने प्रमाणका रुपमा देखाएकी छन् ।
प्रहरीको अनुसन्धान
प्रहरी सुरुदेखि नै यो घटनासँग जोडिएको छ । हाम्राकुराले गरेको भिडियो अन्तर्वार्तामा ती महिलाले आफू बलात्कृत भएको भन्दै प्रहरीलाई सयमा फोन गरी जानकारी गराएपछि महरा आफ्नो कोठाबाट बाहिरिएको बताएकी छन् । ती महिलाले कोठा, फुटेको भनिएको चस्मा, मदिराको बोतल र ग्लास तथा जुत्ताको तलुवालगायतका प्रमाण प्रहरीलाई देखाएको पहिलो भिडियोमा बताएकी थिइन् । महरा पक्राउ परिसकेकाले प्रहरीले घटनाको अनुसन्धान गरी मुद्दा दायर गर्नेछ ।
अब महराले के गर्छन् ?
प्रहरीको हिरासतमा बसेर न्यायालयसमक्ष आफूविरुद्ध लागेको आरोपको कानुनी प्रतिरक्षा गर्नु बाहेक अरु विकल्प महरासँग छैन । अर्थात्, आफूलाई लगाइएको बलात्कार प्रयास आरोपको कानुनी प्रतिरक्षा गर्ने अधिकार उनीसँग सुरक्षित छ ।
कसूर प्रमाणित भए ?
अहिलेलाई महराले आफूलाई लगाइएको कसूर झेल्नेछन् । र, आफूलाई निर्दोष साबित गर्ने मौका पाउनेछन् । तर प्राप्त प्रमाणहरूका आधारमा दोषी ठहर भएमा उनले कैद सजायँ भोग्नु पर्नेछ ।
जबर्जस्ती करणी गर्ने व्यक्तिलाई करणी गर्दाको परिस्थिति र महिलाको उमेर हेरी कैद हुने व्यवस्था छ । मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ मा १८ वर्ष वा १८ वर्षभन्दा बढी उमेरकी महिला भए सात वर्षदेखि १० वर्षसम्म कैद हुने व्यवस्था छ ।
एउटा भिडियोमा महराले आफ्नो कोठामा आई बलात्कार गरेको र अर्को भिडियोमा कोठामा आउँदै नआएको बताएकी ती महिलाले उजुरी दिँदा भने ‘बलात्कार प्रयास गरेको’ भनेकी छन् । अपराधशास्त्रमा यसलाई अपूर्ण अपराध भनिन्छ । यो भनेको ‘अपराध पूरा नभएको तर प्रयास गरेको’ अवस्था हो । दफा ३४ मा यस्तो अवस्थामा आधा सजायँ हुने व्यवस्था छ । बलात्कार कसूरमा ७ देखि १० वर्ष सजायँ भएमा प्रयास गरेको अवस्था पुष्टि भएमा साढे ३ देखि ५ वर्ष सजायँ हुन सक्छ । —अन्नपूर्ण पोस्ट्बाट