काठमाडौं, असोज १८ । सप्तमी अर्थात् दशैंको सातौं दिन आज दुर्गाका नौवटा रूपमध्ये ‘कालरात्रि’ स्वरूपा दुर्गाको पूजाआराधना तथा फूलपाती भित्र्याएर मनाइन्छ । यस दिन पनि दियो, कलश र गणेशको पूजा गरी ‘कालरात्रि’ स्वरूपा दुर्गा भवानीको विशेष पूजा गरिन्छ । शास्त्रका अनुसार केरा, दारिम, धानको बोट, हलेदो, मानेको बोट, कचु, बेलपत्ताको हाँगो, अशोक र जयन्तीलाई फूलपाती भनेर उल्लेख गरिन्छ ।
त्यसैगरी, दशैंको आठौं दिन भोलि(आइतबार) नवदुर्गाका नौवटा रूपमध्ये ‘महागौरी’ स्वरूपा दुर्गाको पूजाआराधना गरेर महाअष्टमी मनाइँदै छ । यस दिन शक्तिस्वरूपा महागौरीसँगै ‘भद्रकाली’ स्वरूपा देवीको पनि पूजा गर्ने चलन रहेको छ । यस दिन पूजापछि बलि दिने चलन छ । बलि भनेको मनुष्यमा रहेका काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य, अहंकार आदि दुर्गुणको त्याग गर्नु या भगवतीको चरणमा अर्पण गर्नु भनिएको हो । रुद्रयामलमा ‘भगवतीको आस्था गरी पूजा गर्ने या सत्यको मार्गमा रहेका जुनसुकै जातजातिका मानिस ब्राह्मण हुन् र तिनले कुभिण्डो वा बेलको बलि दिनुपर्छ भनिएको छ । यस दिन ‘दुर्गादेवी’ नामले कुमारी पूजा, देवीको वाहन सिंह र नौ प्रकारका हातहतियारको पनि पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको छ ।
त्यस्तै, सोमबार ‘सिद्धिदात्री’स्वरूपा दुर्गाको पूजाआराधना गरी महानवमी मनाइँदै छ । यस दिन कन्यापूजा, विश्वकर्मा पूजा, कलकारखाना तथा मेसिनपूजा, हात्ती, घोडा, मोटरसाइकल, गाडी आदि वाहनको पूजा गर्ने चलन रहेको छ । भगवान् गौतम बुद्ध बैशाख शुक्ल पूर्णिमाका दिन भौतिक रूपमा मत्र्यलोकमा अवतरित भए पनि शूक्ष्म शरीरको रूपमा चाहिँ भगवान् विष्णु बुद्धको रूपमा यही दशैंको महानवमीका दिन अवतरित भएको शास्त्रीय मान्यता छ । यसरी नवरात्रका नौ दिनसम्म गरिएको पूजाको अन्त्यमा विसर्जन गरी मंगलबार दशमीका दिन मान्यजनबाट दहीअक्षताको टीका, जमरा तथा आशीर्वाद ग्रहण गरिँदै छ । दुर्गा विसर्जन मंगलबार बिहान ८ः४५ मा र टीकाको शुभसाइत १०ः३५ बजे रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।