काठमाडौं, असोज १२ । मेलम्ची खानेपानी आयोजनाको बाँकी काम चाँडै सक्न चिनियाँ कम्पनी सिनो हाइड्रोसँग सरकारले सम्झौता गरेको छ । मेलम्चीको सुरुङमार्गको बाँकी काम एक वर्षमा सक्न सरकारले उक्त कम्पनीसँग आज सम्झौता गरेको छ ।
आयोजनाले सिनोलाई समय आगावै काम सके दिनको ०.०१५ प्रतिशत प्रोत्साहन भत्ता दिने गरी सम्झौता गरेको छ । १२ महिनाभित्रै काम सक्नुपर्ने कम्पनीले असोज २६ गते काम सुरु गर्ने बताएको छ । छिटो काम सकेमा प्रतिदिन १२ लाख ७५ हजार रुपैयाँ प्रोत्साहन भत्ता पाउने आयोजना प्रमुख तिरेशप्रसाद खत्रीले बताए । यदि काममा ढिलाई भए पनि सिनोले दिनमा १२ लाख ५० हजार रुपैयाँका दरले जरिवाना तिर्नु पर्नेछ ।
सिनोले सुरुङमार्गतर्फ सुरुङको अन्तिम संरचना निर्माण, डाइभर्सन सुरुङ र अडिट सुरुङको लाइनिङ र फिनिसिङ, अडिट सुरुङसम्मको पहुँचमार्ग सुधार, ग्याल्थुमको पहुँचमार्ग, पुलको पुनर्निर्माण, क्याम्पहरुको मर्मत सुधारलगायतका काम गर्नुपर्छ । आयोजनाका निर्देशक तथा प्रवक्ता राजेन्द्र पन्तका अनुसार सिनोसँग सम्भवतः केही दिनमै हेडवर्क्सतर्फको कामका लागि सम्झौता हुनेछ । कम्पनीले सुरुङतर्फ ८५ करोडमा ठेक्का सकारेको छ । हेडवक्सतर्फ पनि २९ प्रतिशत बिलोमा गएर सिनोले ९० करोडमा ठेक्का पाउँदैछ । हेडवर्क्सतर्फ पानी थुन्ने इन्टेक संरचना, पहुँच मार्गको सुधार, कफर ड्यामको डिजाइन र निर्माण, पहुँचमार्गको स्टिल ब्रिजको निर्माण, क्याम्प साइटको मर्मत, फ्लसिङ सिस्टमको जडानलगायतका काम गर्नु पर्नेछ ।
त्यस्तै हाइड्रोमेकानिकल गेट, एसएस पाइपको आपूर्ति जडान र इन्स्ट्रुमेन्टेसन कामको ठेक्का पाउने ठेकेदारसँग समन्वयको काम पनि गर्नुपर्नेछ । सिनो माथिल्लो तामाकोसीको सिभिल ठेकदार हो । सिनोले कुलेखानी तेस्रोमा पनि काम गरेको थियो भने निर्माणाधीन तनहुँ जलविद्युत आयोजनामा यही कम्पनीले काम पाएको छ । मेलम्ची खानेपानी आयोजनाले मुख्य कामलाई दुईवटा प्याकेजमा डिभिजन गरेर ठेक्का लगाएको थियो । सरकारले सिनोलाई मेसिन, उपकरण र जनशक्ति व्यवस्थापन गरेर कार्यस्थलमा तत्काल काम थाल्न आग्रह गरेको छ ।